काठमाडौँ । राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयहरूमा विद्यार्थीको कपाल जबरजस्ती काट्ने तथा विभिन्न बहानामा अपमानजनक व्यवहार गर्ने प्रवृत्ति रोक्न कडा निर्देशन दिएको छ। परिषद्ले यस्तो कार्य बालअधिकार विपरीत हुने भन्दै विद्यालय प्रशासनलाई सचेत गराएको हो।
परिषद्ले जारी गरेको विज्ञप्तिमा विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्ने कुनै पनि गतिविधि शिक्षा नियमावलीले निषेध गरेको उल्लेख गरेको छ। परिषद्का अनुसार विद्यार्थीको इच्छा विपरीत कपाल काट्ने, शारीरिक स्वरूप वा साजसज्जाका आधारमा हेप्ने, घाम वा प्रतिकूल मौसममा उभ्याएर दण्ड दिने तथा अपमानजनक व्यवहार गर्ने कार्य कानुन विपरीत मानिन्छ।परिषद्ले यस्ता गतिविधि गर्ने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनअनुसार ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुन सक्ने जनाएको छ।
परिषद्का सूचना अधिकारी रामबहादुर चन्दद्वारा जारी विज्ञप्तिमा पोसाक, साजसज्जा वा विद्यालय शुल्क नतिरेको कारण देखाएर विद्यार्थीलाई अपमानित गर्ने, विभेद गर्ने वा परीक्षामा सहभागी हुनबाट रोक्ने जस्ता गतिविधि नगर्न विद्यालयहरूलाई आग्रह गरिएको छ।
परिषद्ले बाल अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि तथा बालबालिका सम्बन्धी ऐन, २०७५ ले घर वा विद्यालयमा बालबालिकामाथि गरिने शारीरिक वा मानसिक दण्डलाई बाल हिंसा तथा कानुनी कसुरका रूपमा परिभाषित गरेको स्मरण गराएको छ।
बालबालिकाको आत्मसम्मान, मर्यादा र मानसिक स्वास्थ्यको संरक्षण गर्दै बाल अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धन सुनिश्चित गर्न विद्यालय प्रशासन तथा व्यवस्थापन समितिहरूले स्पष्ट आचारसंहिता निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न परिषद्ले आग्रह गरेको छ।
