सराई, पाल्पा । दिव्यज्योति नमुना मावि कसेनी सराई पाल्पाले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण (आइएसओ) लोगो पाएको छ । विद्यालयलाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने विभिन्न ५० सूचकमध्ये विद्यालयले हालसम्म २० प्रतिशत काम सकेपछि आइएसओ लोगो पाएको हो ।

लोगो हस्तान्तरण कार्यक्रममा माथागढी गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले विद्यालयले सरसफाई, सुरक्षा, भौतिक पूर्वाधार, अन्तरिक व्यवस्थापनको आधारमा लोगो पाएको र अब नतिजा सुधारमा लाग्नुपर्ने धारणा राख्नु भयो । उहाँले आइएसओको विभिन्न सूचकहरू पूरा गरेपछि अभिभावक, विद्यार्थीको रोजाईको केन्द्र बन्ने विस्वास व्यक्त गर्नु भयो । उहाँले विद्यालयले गर्ने जुनसुकै शैक्षिक प्रगतिका काममा पालिकाले विगतदेखि सघाएको र आगामी दिनमा पनि सकेको सहयोग गर्ने उल्लेख गर्नु भयो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरणका नेपाल प्रतिनिधि तथा ग्लोबल क्लालिटी काउन्सिलका प्रमुख सुदिप शर्माले लोगो पाएपछि विद्यालयको थप सूचक पूरा गर्न निरन्तर काम गर्नुपर्नेमा जोड दिनु भयो। विद्यालयले आइएसओ लोगो पाएपछि संस्कारयुक्त विद्यार्थी उत्पादन हुने बताउँदै उहाँले विद्यालयले लोगो पाउनका लागि प्रारम्भिक चरणको काम सकेको र अब नतिजा सुधारमा ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थापाले गत भदौँमा ग्लोबल क्लालिटी काउन्सिलसँग सम्झौतापछि गरिएको कामको बारेमा जानकारी दिनु भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेखीराम रानाले आइएसओ लोगो प्रमाणपत्र पाउने गरी द्रुत गतिमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका सदस्य केशमाया सुनार, माथागढी गाउँपालिकाका कार्यपालिका सदस्य लिलासरा चिदी, विद्यालयका सल्लाहकारहरू पदमबहादुर घर्तीमगर र विष्णुप्रसाद काफ्लेले शुभकामना दिनु भयो ।

आइएसओका विद्यालय प्रतिनिधि सुरेशकुमार भट्टराईको स्वागत, सहायक प्रधानाध्यापक नारायणबहादुर मश्राङ्गीको संचालन र विव्यस अध्यक्ष रेखीराम रानाको अध्यक्षतामा कार्यक्रम सम्पनन भएको थियो ।