तानसेन, पाल्पा । विद्यार्थीहरुमा साहित्यप्रति रुची जगाई साहित्य क्षेत्रमा नयाँ जागरण ल्याउने उद्देश्यले तानसेन पाल्पामा साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ ।
तानसेन नगरपालिका वडा न.३ भित्रका विद्यालयहरुबिच भएको उक्त प्रतियोगितामा विद्यार्थीहरुले लघुकथा वाचन, कविता लेखन तथा वाचन र वक्तृत्वकला प्रस्तुत गरेका थिए । प्रतियोगितामा वडा नं. ३ भित्र रहेका पद्म पब्लिक नमूना माध्यमिक विद्यालय, जनता नमूना माध्यमिक विद्यालय, पाल्पा आवासिय माध्यमिक विद्यालय, पाल्पा प्यारागन बोडिङ्ग स्कूल र सेन्ट कपितानियो ईङ्लिस बोडिङ्ग स्कूलका १५ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा लघुकथातर्फ पाल्पा प्यारागन ईङ्लिस बोडिङ्ग स्कूलकी छात्रा भूमिका बस्याल प्रथम, पाल्पा आवासिय माविकी छात्रा कृष्टी बस्याल द्वितीय, जनता माविकी छात्रा अलिन्सा घिमिरे तृतीय र सेन्ट कपितानियो ईङ्लिस बोडिङ्ग स्कूलका छात्र वैवभ कार्कीले सान्त्वना स्थान प्राप्त गरे । यस्तैगरी कविता लेखन तथा वाचन प्रतियोगितातर्फ पाल्पा प्यारागनकी कौशल्या बस्याल प्रथम, सेन्ट कपितानियोकी प्रदिप्ती नेपाल द्वितीय, पप माविकी आसा गन्धर्व तृतीय र जनता माविकी तुलजा नेपाल सान्त्वना भए । वक्तृत्वकला प्रतियोगितातर्फ भने सेन्ट कपितानियोकी रियाना नेपाल प्रथम, प्यारागनकी केकी बस्याल द्वितीय, जनता माविकी प्रेस्का घिमिरे तृतीय र पाल्पा आवासियकी छात्रा लजिना कार्की सान्त्वना भएका थिए ।
प्रतियोगिताका विजेता तथा सहभागी समूहलाई कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिका –३ का वडाका अध्यक्ष बाबुरत्न शाक्यले नगद, शैक्षिक सामग्री र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । पुरस्कार प्रदान गर्दै उहाँले प्रतियोगिताले विद्यार्थीको साहित्यिक प्रतिभा पहिचान र प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।
साहित्यिक कार्यक्रम आयोजक समिति तानसेनको आयोजना, पाल्पा साहित्य समाजको समन्वय र वडा कार्यालयको आर्थिक सहयोगमा उक्त प्रतियोगिता सम्पन्न भएको समितिका संयोजक पुष्करराज रेग्मीले बताउनु भयो ।