तिनाउ, पाल्पा । तिनाउ गाउँपालिका वडा नं. १, ठूलीउदाङमा बालमैत्री कार्यक्रम अन्तर्गत बालबालिकाहरुका लागि मनोविमर्श तथा परामर्श तालिम सम्पन्न भएको छ ।

तालिममा शैक्षिक अभियन्ता दलबहादुर गुरुङले बालबालिकाको अर्थ, मनोविमर्शको परिचय, यसका क्षेत्र, आवश्यकता र प्रकारका साथै विद्यालयमा यसको खाँचोसम्बन्धि सहजीकरण गर्नु भएको थियो । यस्तै बालमैत्री कार्यक्रम वडा नं. १ का सहजकर्ता वसन्त चिदीले बालमैत्री स्थानीय शासन,यसको आवश्यकता र तिनाउ गाउँपालिकाले निकट भविष्यमा घोषणा गर्दै गरेको बालमैत्री स्थानीय शासन कार्यक्रमका बारेमा प्रष्ट्याउनु भयो ।

तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका वडा नं. १ का वडा सदस्य यमबहादुर घर्तिले बालबालिकालाई बाल मनोविमर्श आवश्यक रहेको बताउँदै यस्तो खाले तालिम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिनु भयो । साथै उहाँले बालमैत्री कार्यक्रममार्फत गाउँमा बालश्रम, बालविवाह रोकिएको समेत बताउनु भयो ।

सोही अवसरमा सिद्व आधारभूत विद्यालयका प्रधानाध्यापक धनबहादुर सोमरेले यतिबेला विद्यालयमा विविध खालका समस्याहरु भएकाले विद्यालयमा नै मनोविमर्श केन्द्र स्थापना र शिक्षकलाई मनोविमर्श तालिम आवश्यक रहेको ओैल्याउँदै त्यसतर्फ गाउँपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । सरस्वती आधारभूत विद्यालयका शिक्षक कुमार भण्डारीले तालिम प्रभावकारी रहेको बताउनु भयो ।

तालिममा प्रगतिशील बालक्लवका अध्यक्ष अशोक घर्ति, स्मृति घर्ती, स्नेहा घर्ति र रोजित केसी लगायतले तालिम ज्ञानवर्द्वक रहेको बताए । तालिममा सरस्वती र सिद्ध आधारभूत विद्यालयमा गठित बालक्लवहरु र समुदायमा रहेका बालक्लवहरुका विद्यार्थीको सार्थक सहभागिता रहेको थियो ।