रामपुर, पाल्पा । रामपुरको पर्यटन प्रवर्द्धनका लागि आयोजित विचार गोष्ठीका सहभागीहरुले रामपुरको समग्र विकासका लागि पर्यटन नै मुख्य आधार रहेको बताएका छन् ।
गोष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय उपाध्यक्ष दलबहादुर गुरुङ, मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका महासचिव युवराज घिमिरे र सोही समितिका प्रमुख कार्यकारी अघिकृत अनन्तराज सिलवालले रामपुरको समृद्धिका लागि पर्यटन र यसका आधार विषयमा आधारपत्र पेश गर्नु भएको थियो ।

उक्त आधारपत्रमा रामपुरको समृद्धिका लागि पर्यटन र पर्यटन विकासका लागि उद्यान, कृषि, प्रकृति र संस्कृति रहेको हुँदा सोही अनुसारको एकीकृत पर्यटन नीति, योजना र कार्यक्रमका साथै गुरुयोजनामा जोड दिनुपर्ने उल्लेख गरिएको छ । यस्तै रामपुरलाई रेष्टप्लेसका रुपमा विकास गर्न पालिकाले रामपुरभित्र रहेका पर्यटनसँग सरोकार राख्ने संघसंस्थाहरुको सञ्जाल गठन गर्नुपर्नेमा समेत जोड दिईएको छ ।
सो गोष्ठीका प्रमुख अतिथि रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले साधन, स्रोत सम्पन्न रामपुरलाई पर्यटकीय गन्तव्य बनाउँदै अघि बढिरहेको बताउनु भयो । पर्यटनलाई नै मूलआधार बनाउन सक्दा रामपुरक्षेत्र पर्यटकीय गन्तव्य बन्न सक्ने उहाँको तर्क थियो । उक्त गोष्ठीमा नेपाल उद्यान महासंघका केन्द्रीय सदस्य सागर देवकोटाले पर्यटन विकासको खास आधार उद्यान भएको हुँदा एक वडा एक उद्यानलाई कार्यान्वयन गर्नुपर्ने बताउनु भयो । रामपुरमा थुप्रै पर्यटकीय गन्तव्य भएता पनि सोचेजति विकास हुन नसकेको उहाँको गुनासो थियो ।

गोष्ठीमा फणिश्वर ढकाल, पुरुषोत्तम ढकाल, हुमनाथ न्यौपाने, हरिनाथ ढुंगाना लगायतले रामपुरलाई पर्यटनको हब बनाउनुपर्नेमा जोड दिएका थिए ।सहभागीहरुले गोष्ठी फलदायी रहेको र कार्यान्वयनमा रामपुर नगरपालिकाको दायित्व र भूमिका अभिभावकीय रहनू पर्नेमा जोड दिए । रामपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको आयोजना तालपोखरा संरक्षण समितिले र समन्वय नेपाल उद्यान महासंघले गरेको थियो ।