रामपुर, पाल्पा । गंगा माध्यमिक विद्यालय रामपुर–८, एक्लेटार पाल्पाले आफ्नो ४७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम गरी मनाएको छ ।

लुम्बिनी प्रदेशसभा सदस्य ,अर्थ उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठले कार्यक्रममको समुद्घाटन गर्नुहुँदै प्राविधिक शिक्षासंगै व्यवहारिक तथा नैतिक शिक्षा वर्तमान समाजको आवश्यकता रहेको बताउनुभयो । प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले विद्यालय सुधारको लागि अभिभावक र विद्यालय विचको सम्बन्ध सुमधुर बनाउने सकेमात्र राम्रो नतिजा हासिल गर्न सकिन्छ भन्ने कुरा गंगा माविले प्रमाणित गरेको बताउनुभयो । विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय मात्र नभै अभिभावकको पनि महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सैद्धान्तिक ज्ञानसंगै व्यवहारिक शिक्षाले मात्र समाज रुपान्तरणमा टेवा दिने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेशको नमुना बिद्यालयको शैक्षिक गुणस्तर उकास्न अभिभावकले संस्कार सहितको शिक्षा सिकाउनुपर्नेमा जोड दिनु भयो । अधिकांश विद्यालयमा पुग्दा अभावै अभावको गुनासोहरु आउने गरे पनि गंगा माविले आवश्यक पूर्वाधार निर्माण सम्पन्न गरी शैक्षिक गुणस्तर सुधार तर्फ अघि बढनु नगरको गौरवको विषय रहेको बताउनुभयो ।

वार्षिकोत्सव समारोह कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख प्रेमराज खरेल, पूर्व विद्यार्थी एवं अधिवक्ता शिव अर्याल, रामतुलसी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष विशाल श्रेष्ठ, (प्याव्सन) केन्द्रीय प्राज्ञिक परिषद् सदस्य एवं रामपुर अंग्रेजी आवासीय माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य प्रसाद घिमिरे, दरै ठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा, सम्मानित हुने पूर्व अध्यक्ष बाबुराम अर्याल, विद्यार्थी करिना सुनार र पवि पराजुली लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक देवराज देवकोटाले विद्यालयले हाल सम्म प्राप्त गरेको उपलब्धि, वर्तमान अवस्था र भावि रणनिती सहितको वार्षिक प्रतिवेदन तथा सुनिल कुमार आचार्यले आयव्याय प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा शिक्षक बद्री घिमिरे, संगीता सेन, माधव पंगेनी, विद्यालय व्यवस्थापन समिति सदस्य बावुराम अर्याललाई सम्मान गरिएको थियो । विद्यालयको बार्षिकोत्सवको अवसरमा चेतनाथ रन्जिता स्मृति अक्षयकोषको व्याजबाट ५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक कृष्णप्रसाद घिमिरेको स्वागतबाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई रामपुर ८ का वडा अध्यक्ष दिनेश आचार्यले धन्यवाद दिनुभएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि बहादुर ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक बद्री घिमिरे र डिल्लीराम रेग्मीले गर्नुभएको थियो । कार्यक्रममा बार्षिकोत्सवको अवसरमा भएका विभिन्न अतिरिक्त क्रियाकलापमा बिजयी विद्यार्थी तथा अभिभावकलाई पुरस्कृत गर्नुका साथै विद्यार्थीहरुले आफ्‌ना प्रतिभा प्रस्तुत गरेका थिए ।