काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा एक थोपा पनि रगत बग्नु नहुने र कोही पनि घाइते हुन नहुने बताउनु भएको छ । उहाँले त्यसैअनुसार सुरक्षा व्यवस्थापन गर्न निर्देशन जोड पनि दिनु भएको छ । सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताउनु भयो । उहाँले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय रहेकाले फागुन २१ हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतिहरुको सूक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । निर्वाचनका लागि सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुरक्षा चुनौतिहरु समयानुसार परिवर्तन हुँदै गएका छन् । विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी बलले खेलेको भूमिका प्रशंसनीय छ ।  प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै सम्भावित सुरक्षा चुनौतिहरुको सुक्ष्म अध्ययन गरी उच्च सतर्कता र व्यावसायिकताका साथ कार्य सम्पादन गर्न म यहाँहरुलाई निर्देशन दिन चाहन्छु । वर्तमान संक्रमणकाल अन्त्य गरी मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको छ । सबै सुरक्षा अंग परिचालनको निर्णय पनि गरिसकेको छ । निर्वाचनमा एक थोपा पनि रगत बग्नु हुँदैन, कोही पनि घाइते हुनु हुँदैन ।’

प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सबै सुरक्षा निकायले उच्च स्तरको व्यवसायिकता प्रस्तुत गर्ने जिकिर गर्नुभयो ।