९ माघ, काठमाडौं । आज विद्याकी देवी सरस्वतीको पूजाअर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त पञ्चमी पनि भनिने आजको दिनमा सरस्वती मन्दिरहरुमा पूजा गर्नेहरुको चहलपहल छ ।

यस दिनलाई विद्या, बुद्धि, कला र संगीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा-आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ ।

सरस्वती पूजाकै दिन बालबालिकाहरुले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । आजको दिन विद्यालयहरूले सरस्वती पूजा कार्यक्रम राखेका छन् ।

संगीत प्रशिक्षणको सुरुवात पनि यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित संगीतका वाद्ययन्त्र तथा रंग-कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ । आजै  काठमाडौं हनुमानढोका दरबारस्थित नासलचोकमा उपराष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत गन्यमान्यहरू वसन्त श्रवणमा सहभागी हुने चलन छ ।