भुवन सिंजाली
पूर्वखोला, पाल्पा । गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धि विधेयक पारित गर्दै पूर्वखोला गाउँपालिका गाउँसभाको १९ औं अधिवेशन सम्पन्न भएको छ।

अधिवेशनका प्रमुख अतिथि जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लामै सबै भन्दा कम आन्तरीक आम्दानी भएको गाउँपालिका भएरपनि सामुदायिक विद्यालय समायोजन गरि एकद्वार शिक्षा संचालन गर्नु तथा प्रत्येक वडामा बर्थिङ सेन्टर संचालन गरि शून्य होम डेलिभरि गर्न सक्नु देशकै नमुना काम भएको बताउनु भयो ।

उहाँले गाउँपालिकाले स्थानीय बासिन्दाको आवश्यकतालाई मध्यनजर गर्दै कृषि, पशु, पर्यटन, रोजगार, सडक र प्रशासनिक भवन संचालन व्यवस्थापन धेरै राम्रो भएको पनि उल्लेख गर्नु भयो । प्रमुख खनालले निर्माण भएका संरचनालाई मर्मत रेखदेख र स्थानीय स्तरमा उत्पादित कृषि पशुलाई बजार व्यवस्थापन गर्न गाउँपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

अधिवेशनले चालू आर्थिक वर्षको खर्च अनुमोदन, कार्यपालिकाको निर्णयहरु अनुमोदन, बेरुजु फस्यौट कार्यविधि, लेखा समिति गठन तथा कार्यसंचालन कार्यविधि, गाउँसभा सचिवालय स्थापना तथा संचालन कार्यविधि, फलफूल बगैंचा स्थापना तथा सुदृढीकरण कार्यक्रम संचालन कार्यविधि २०८२ समेत पारित गरेको छ।

विभिन्न विषयगत समितिका संयोजकहरुबाट प्रस्तुत गर्नुभएको प्रतिवेदन, महालेखापरिक्षक कार्यालयको प्रतिवेदन तथा बजेट संसोधन प्रस्ताव माथि समेत छलफल गरि पारित गरेकोे छ।

अधिवेशनमा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँसभाको कार्यसूचि र उपाध्यक्ष भागिरथि भट्टराईले प्रस्तावहरु पेश गर्नु भएको थियो ।
विभिन्न शाखाबाट कार्यान्वयन गरेको खर्च विवरण र प्रगति प्रतिवेदन प्रशासकीय प्रमुख राजु नेपालले प्रस्तुत गर्नु भएको थियो । यस्तै पूर्वखोला गाउँ बालअधिकार अधिकृत देव ढेंगाले स्थानीय बालमैत्री शासन सम्बन्धी गाउँपालिकाले तयार पारेको कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।

गाउँसभामा कृष्ण प्रसाद भट्टराई, भुवन सिंजा, मेहर सिं थापा लगायतले समसामयिक विषयमा गुनासो र सल्लाह सुझाव राख्नु भएको थियो । गाउँसभा सदस्यहरुबाट आएको गुनासोलाई अध्यक्ष थापा र प्रशासकीय प्रमुख नेपालले सम्बोधन गर्नु भएको थियो । २ दिनसम्म संचालन भएको गाउँसभा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षतामन सम्पन्न भएको थियो ।