पूर्वखोला, पाल्पा । गाउँपालिकाले प्रदान गरेको सेवाप्रवाहलाई नागरिक स्तरबाट मुल्याङ्ककन गराउने तथा सेवा प्रवाहमा थप प्रभावकारीता बढाएर सुधार गर्ने उद्देश्यले पूर्वखोला गाउँपालिका पाल्पाले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । उक्त सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत आर्थिक बर्ष २०८२ को श्रावण देखी पुस १७ गते सम्म कार्यालयले प्रदान गरेको सेवा प्रवाहहरुको तथ्यांक सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले प्रथम चौमासिक अवधिमा भएका कार्यक्रम गतिविधीहरु तथा आम्दानी खर्च लगायतका विषयबस्तुहरु प्रस्तुत गर्नु भएको थियो । हालसम्म पूर्वखोला गाउँपालिकाले ४० दशमलव ७६ प्रतिशत बजेट कार्यान्वयन गरी कुल प्रगति हासिल गरेको, उपभोक्ता समितिका ३२४ जनालाई योजना सम्झौता, कार्यान्यन, फरफारकका विषयमा तालिम प्रदान गरेको र २२२ जना ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरेको विवरणमा उल्लेख छ ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत नेपालले १८ लाख ७२ हजार आन्तरीक राजश्व संकलन भएको, २ हजार ४ सय ६८ जनालाई सामाजिक सुरक्षा भत्ता बापत २ करोड ५१ लाख ७३ हजार रुपैयाँ वितरण गरेको, प्रधानमन्त्री रोजगार कार्यक्रममा २४६ जना सूचिकृत भएको, १६ जना मानसिक समस्या भएकालाई मनोपरामर्श सेवा प्रदान गरेको, श्रावणदेखी मंसिर महिना सम्म ८ हजार १९७ जना नयाँ विरामीले सेवा लिएको, गाउँपालिका भित्रका सबै विद्यालयका शिक्षक, कर्मचारी गरी ४ सय ४ जनाको सामुहिक दुर्घटना बिमा पालिकाले गरिदिएको, ३६ जना अभिभावक विहिन बालबालिकालाई ६ हजार देखी ९ हजार रुपैयाँसम्म छात्रबृत्ति प्रदान गरिएको कार्यप्रगति समेत प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा जनताहरुले हुमिन पूर्वखोला पहुँच मार्गको निर्माणमा ढिला सुस्ती भएको, कृषि तथा पशु प्राविधिकहरुलाई कृषकको घरदैलोमा नियमित रुपमा परिचालन गर्नुपर्ने, योजनाहरुको बढी भन्दा बढी अनुगमन बढाउनु पर्ने, सबै वडा बाट एक एक सवारी साधन पालिकाको केन्द्र सम्म नियमित रुपमा सञ्चालनको व्यस्था मिलाउनु पर्ने, सामाजिक सुरक्षा भत्ता वडा वडा बाटै वितरण गर्नुपर्ने, विधालयमा सस्कार सहितको शिक्षा प्रदान गर्नु पर्ने, कुलो सिंचाईको योजनाहरु बढाउनु पर्ने, नागरिक गुनासो कक्ष सञ्चालन गर्नुपर्ने, नागरिक मैत्री सेवा सुविधा प्रदान गर्नुपर्ने, प्रत्येक वडामा हाट बजार संचालन गर्नुपर्ने तथा गुणस्तरीय विउ विजन समयमै उपलब्ध गराउनु पर्ने लगायतका गुनासा र सुझावहरु दिएका थिए ।

जनताले गरेका गुनासा, सुझाव तथा अपेक्षाको बारेमा गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले जवाफ दिनु भएको थियो । पूर्वखोलको विकास निर्माण, जनताको सेवा सुविधाको लागी निरन्तर लागि परेको बताउदै अध्यक्ष थापाले पालिका भित्र बाट ४ अर्व रकम बराबरका योजना कार्यक्रम र बजेटको माग आउने गरेता पनि बजेटको सिमितताले गर्दा योजनाहरको प्राथमिककरण गरेर स्विकृत गर्ने गरिने बताउनु भयो । कार्यालय तथा प्रशासनिक तर्फ आएका गुनासाहरुको प्रमुख प्रशासकीय अधिकृत नेपालले जवाफ दिदै आई परेका समस्याहरु अन्य शाखाबाट समाधान हुन नसकेका कामहरु आफुलाई भेटेर जानकारी गराउन सेवाग्राहीलाई अनुरोध गर्नु भयो । सार्वजनिक सुनुवाईमा आएका गुनासा, सुझाव र मागहरुलाई लिपिबद्ध गरेर कार्यान्वयन गरिने प्रमुख प्रशासकीय अधिकृत नेपालले प्रतिबद्धता जनाउनु भयो ।
कार्यक्रममा विभिन्न राजनितिक दलका नेताहरु, उपभोक्ताहरु, शिक्षकहरुले गरेका गुनासा, सुझावहरुलाई सुन्ने मात्र होईन कार्यपालिकाको बैठकमा पेश गरी कार्यान्वयन गरिने उपाध्यक्ष भागिरथी शर्मा भट्टराईले बताउनु भयो । पालिका अध्यक्ष नुन बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष भागिरथी शर्मा भट्टराईको स्वागत, पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलको संचालनमा सार्वजनिक सुनुवाई भएको थियो ।