राज कुमार आले
पूर्वखोला, पाल्पा । ठुला पशुमा देखिने बाँझोपन न्युनिकरण गर्नको लागि पूर्वखोला गाउँपालिका वडा नं ३ मा एक दिने बाँझोपन शिविर सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्र नेपालको सहजिकरणमा सञ्चालित पूर्वखोला कृषि तथा पशु विकास परियोजना अन्तर्गत यो शिविर सञ्चालन गरिएको हो ।

ठुला पशुमा देखिने बाँझोपन कृषकको लागि एउटा रोग जस्तै भएको बताउँदै वडा नं ३ रिङ्गनेरहका अध्यक्ष कृष्ण प्रसाद भट्टराईले भन्नुभयो कृषकहरुको समस्या र यो रोगको निधान गरि दुध उत्पादन र आम्दानी बढाउन यो शिविर निकै लाभदाय हुने भएको छ । कृषक हिजो भैसी थारो भएको थाहा पाउन व्याउने समय सम्म पर्खनु पर्ने बाध्यता भएको भन्दै अध्यक्ष भट्टराईले भन्नुभयो अहिले प्रविधि विकासले बाँझोपन न्युनिकरणमा महत्वपुर्ण भुमिका खेलेको छ जुन यो शिविरबाट प्रत्यक्ष लाभ कृषकले पाएको छ ।

त्यस्तै, पूर्वखोला गाउँपालिकामा भैसीपालन कृषकहरु बढी रहेको र भैसीमा बाँझोपन बढ्न थालेपछि परियोजनाले यो शिविर राखि त्यसको न्युकिरण गर्नमा परियोजना लागि परेको परियोजना संयोजक राज कुमार आलेले बताउनुभयो । उहाँले भन्नुभयो ठुला पशुमा देखिने बाँझोपनले दुध उत्पादन घटेको छ । यसले कृषकहरुको आम्दानी समेत घटाएको छ । बाँझोपन ठुला पशुमा मात्रै होई साना पशु बाख्रा र बंगुरमा पनि देखिन थालेकोले आगामि दिनमा परियोजनाले त्यस तर्फ ध्यान दिने समेत संयोजक आलेले जानकारी दिनुभयो ।

उता विरिष्ठ पशु डाक्टर र प्राविधिकहरु घरमै पुगेर सेवा दिदाँ कृषकहरु खुशी भएको बताउँदै हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत अंशु प्रधानले भनिन् नयाँ प्रविधिबाट पुशको गर्भ आवस्था र त्यसको समस्या समाधानको जानकारी घरमै पाउदाँ कृषक खुशी भएका हुन ।

त्यस्तै, नयाँ प्रविधिको विकासले पशुको बाझोपन न्युनिकरण र गर्भधान गराउन सजिलो भएको राष्ट्रिय पशु प्रजनन् कार्यालय बाँके नेपालगञ्जका डा. मिलन कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो नयाँ प्रविधिको विकासको जानकारी कृषकलाई दिने मात्रै होईन् यसको प्रभावकारिता बारे पनि कृषकले थाहा पाउन जरुरी छ ।

यो शिविरबाट परियोजनामा आवद्ध कृषक सदस्यहरु मात्रै नभएर अन्य कृषकहरुले समेत यो शिविरबाट निःशुल्क सेवा लिएका थिए । समय सापेक्ष आएको नयाँ प्रविधिको प्रयोगबाट कृषकलाई हौसला दिने मात्रै होईन् दुध उत्पादन र आय वृद्धिसंगै पशु कल्याण हुने समेत पक्का छ । त्यसैले यस्तो सेवा विस्तार र प्रयोगमा हामी सबैको बेलैमा ध्यान जानु पर्ने देखिन्छ ।