विष्णु जिसी
देवगीर, पाल्पा । लायन्स क्लव अफ बुटवल स्टार्सले रत्न मावि देवगीर पाल्पालाई कम्प्युटर कक्ष निर्माणको लागि ६ वटा कम्प्युटर, आवश्यक फर्निचर, स्टेशनरी सामाग्री र खेलकुद लगायतका सामग्री सहयोग गरेको छ ।
लायन्स क्लव अफ बुटवलका अध्यक्ष लायन राजन जिसीले उक्त सामग्रीहरु विद्यालयका प्रधानाध्यापक निर बहादुर सारु र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम बहादुर जिसीलाई हस्तान्तरण गर्नु भयो । विद्यार्थीहरुको सिकाईलाई प्रविधिमैत्री बनाएर शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने पवित्र उद्देश्यका साथ उक्त सामग्रीहरु सहयोग गरिएको क्लवका अध्यक्ष जिसीले बताउनु भयो । लायन्स क्लव अफ बुटवलले स्थापना गरेको कम्प्यूटर ल्यावको माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले उद्घाटन गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका चिदीले माथागढी गाउँपालिका भित्रको शैक्षिक पक्षमा यस विद्यालयले गरेको योगदानको प्रशंसा गर्दै लायन्स क्लव अफ बुटवल स्टार्सले गरेको यस प्रकारको सहयोगले शैक्षिक पक्षको गुणस्तरमा एउटा ईट्टा थपिएको उल्लेख गर्नु भयो । यस्तै क्लवका अध्यक्ष लायन राजन जिसीले आफुले यसै विद्यालयबाट प्रारम्भिक शिक्षा हासिल गरेको स्मरण गर्दै आफु जन्मे हुर्केको ठाँउको विद्यालयमा कम्प्युटर कक्ष व्यवस्थापन लगायतका सामग्रीहरु सहयोग गर्न पाउनु खुशीको क्षण भएको बताउनु भयो । विद्यालयमा स्थापित कम्प्यूटर ल्यावबाट यहाँ अध्ययनरत विद्यार्थीहरुले आईटि तथा कम्प्युटर सम्बन्धी थप ज्ञान सीप हासिल गर्ने कुरामा आफुलाई पूर्ण विश्वास रहेको समेत बताउनु भयो ।

रत्न माविलाई सम्झेर सहयोग गर्नु भएकोमा विद्यालयका प्रधानाध्यापक निर बहादुर सारुले लायन्स क्लव अफ बुटवल स्टार्सको टिम र क्लवका अध्यक्ष लायन राजन जिसीलाई धन्यबाद ज्ञापन गर्नु भयो । कम्प्यूटर कक्ष उद्घाटन तथा सामग्री हस्तान्तरण कार्यक्रम लायन राजन जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।