काठमाडौँ, पुस १५ गते । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव रहेको बताउनु भएको छ । तमु ल्होसार महोत्सवलाई सम्बोधन गर्नु हुँदै प्रधानमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

काठमाडौं टुँडिखेलमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले तमु ल्होसारजस्ता पर्वले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको उल्लेख गर्नु भयो । मुलुकले अब थप अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको बताउदै उहाँले सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प नभएको समेत बताउनु भयो ।

आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको बताउनु हुँदै प्रधानमन्त्री कार्कीले सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सवैप्रकारका आवश्यक कामहरु गरिरहेको बताउनु भयो । उहाँले यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ, सहयोग र सक्रिय सहभागिता अत्यन्तै आवश्यक छ पनि बताउनु भयो ।