रैनादेवी, पाल्पा । रैनादेवी छहरा गाउँपालिकामा छैटौं पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यालय भित्र लुकेर रहेका खेल प्रतिभाहरूको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने, विद्यार्थीहरुको शारीरिक, मानसिक तथा नैतिक विकास गराउने अभियानका साथ ३ दिने प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले बालबालिकामा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । यस्तै खेलकुदमार्फत बालबालिकाको सबै खाले विकास गर्न, बालबालिकालाई जित्ने र सिक्ने अभ्यास गराउन महत्वपूर्ण भमिका रहने पालिका उपाध्यक्ष युवराज थापाले बताउनु भयो ।
प्रतियोगितामा १२ वटा माध्यमिक र २ वटा आधारभुत गरी १४ वटा विद्यालयका ३२४ जना विद्यार्थीहरु विभिन्न खेलमा सहभागी भएका छन् । गाउँपालिका शिक्षा शाखाको आयोजनामा भएको प्रतियोगितामा छात्र, छात्रातर्फ, भलिवल, कवड्डी, एथेलेटिक्सतर्फ एक सय मिटर, दुई सय मिटर, आठ सय मिटर र पन्ध्र सय मिटरसम्म दौड, फिल्डतर्फ हाईजम्प, लङ्ग जम्प, त्रिपल जम्प ज्यावलिङ्ग थ्रो लगायतका खेलहरु सञ्चालन हुने छन् । पुस १६ गते सम्म सञ्चालन हुने प्रतियोगिता वडा नंं ५ को कटौजेपानी पालिकास्तरीय खेलमैदानमा भईरहेको छ ।