माया राना
जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका वडां नं २ जल्पा ढोलिमारामा लगाइएको सामुहिक क्युवि खेतीबाट यस बर्ष भएको आम्दानी कृषकहरुलाई बितरण गरिएको छ।
६० जना कृषकहरुलाई ३ लाख २७ हजार ८ सय रुपैया बितरण गरिएको कृषक समुहका अध्यक्ष भिम बहादुर सारुले बताउनु भयो । २५ रोपनी जग्गामा लगाईएको ८ सय वटा क्युविको बोटबाट गत बर्षदेखि कृषकहरुले उत्पादन लिन शुरु गरेका हुन् । गत साल ७ क्वीन्टल उत्पादन भएकोमा यस बर्ष १० क्वीन्टल भन्दा बढी उत्पादन भएको कृषकहरुले बताउनु भयो ।
गत बर्ष प्रति किलो ४ सयमा बिक्री गरिएको किबि यस बर्ष भने प्रति किलो ३ सयमा बिक्री भएको जल्पा देवी कृषक समुहक अध्यक्ष भिम बहादुर सारुले बताउनु भयो। जग्गा भाडा र मल खरिद्को लागी गरिएको लगानी कटाएर काममा उपस्थितिको आधारमा एक जना कृषकले बढिमा १० हजार र कम्तिमा ३ हजार रकम पाएका छन ।
समुहमा काम गर्दा रमाइलो हुने तथा यही क्युवी खेती हेर्नको लागि पर्यटकहरु समेत आवतजावत गर्दा गाँउ नै रमाइलो लाग्ने साथै समूहमा मिलेर गरिएको खेतीबाट प्राप्त आम्दानीले घर खर्चमा पनि सहयोग पुगेको समुहका कृषकहरुले बताउनु भयो । यो खेती सफल हुनुमा कृषकहरुको सामुहिक एकता, मिहिनेत र किसानहरुको सकृयता प्रमुख रहेको छ । यस्तै पूर्वखोला गाउँपालिका, जल्पा वडा कार्यलय र डिभिजन बन कार्यलय पाल्पाको पनि उत्तिकै सहयोग र योगदान रहेको बताउदै उक्त संस्थाहरु प्रति कृषक समूह आभारी रहेको अध्यक्ष सारुले बताउनु भयो ।