तानसेन, पाल्पा । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले जिल्लाको विकासका लागि एकीकृत व्यवसायीक योजना आवश्यक रहेको बताउनु भएको छ । पाल्पा व्यापार संघको आठौं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री सारुले प्रदेश सरकारले उत्पादनका आधारमा अनुदानको कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको जनाउदै सो क्षेत्रमा ध्यान दिन आग्रह समेत गर्नु भयो ।

पछिल्ला वर्षहरुमा नसर्ने रोगका बिरामीको संख्या बढ्नुका पछाडि खानपान र फेरिएको जीवनशैली रहेको बताउदै उहाँले अर्गानिक उत्पादनमा जोड दिनुपर्ने बताउनु भयो । यसका साथै दैनिक खानपान र जीवनशैली सुधार गरेर मात्रै निरोगी बन्न सकिने उल्लेख गर्नु भयो। मन्त्री सारुले मानिस स्वस्थ भए मात्रै उसले हरेक क्रियाकलाप गर्न सहज हुने औल्याउदै अर्गानिक उत्पादन र उपभोक्ताले विषादिरहित खाद्यवस्तुको उपभोग गर्न पाउने वातावरण निर्माणमा व्यवसायीले ध्यान दिनुपर्नेमा जोड दिनु भयो।

मन्त्री सारुले पाल्पाको मुख्य उत्पादन ढाका र करुवा भएपनि त्यसको उत्पादन तुलनात्मक रुपमा घट्दो बmममा रहेकोमा व्यापारिक संघसंस्थाले ध्यान दिनुपर्ने बताउनु भयो । आन्तरिक उत्पादन प्रवर्धन गरेर साना व्यपारीको संरक्षण र प्रवर्धनमा संस्थाले नेतृत्व गर्नु पर्ने बताउँदै मन्त्री सारुले व्यापरिक प्रवर्धनका लागि जिडिटल माध्यमको प्रयोग गरेर विश्व बजारमा लैजानेगरी काम गर्नुपर्नेमा जोड दिनु भयो ।