तानसेन, पाल्पा । तानसेन नगरपालिका पाल्पाको नगर सभाको १६ औँ अधिवेशन सम्पन्न भएको छ । हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले विनियोजन ऐन, २०८१ (संशोधन विधेयक) र न्यायिक समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारित गरेको छ ।
सभाले नगर उपप्रमुख प्रतिक्षा सिंजालीले छलफलका लागि प्रस्तुत गरेका संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारित गरेको छ । पारित भएको संशोधन विधेयकमा आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्व ५३ करोड ६० लाख ७८ हजार ६ सय २४ रुपैयाँमा नबढाई सञ्चित कोषबाट खर्च गर्न सकिने उल्लेख गरिएको छ ।

त्यस्तै नगरसभामा न्यायिक समितिका संयोजक समेत रहनु भएका सिंजालीले ६ महिनाको अवधिमा न्यायिक समितिले गरेका काम, कर्तव्य र गतिविधिका विषय न्यायिक समितिको प्रतिवेदन समेत सर्वसम्मत रुपमा पारित भएको छ । सभामा नगर सभा सदस्यहरुले विभिन्न विषय र सवालका बारेमा आ आफ्ना गुनासा र सुझावहरु राखेका थिए ।

नगर सभा सदस्यहरुले राखेका जिज्ञासाहरुको जवाफ दिर्दै सभाका अध्यक्ष एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले पहिले जनताका अत्यावश्यक आवश्यकता परिपूर्ति गरेर मात्र अन्य विषयलाई अघि बढाउने जानकारी गराउनु भयो । सभा नगरप्रमुख श्रेष्ठको अध्यक्षता र अधिकृत भरत आचार्यको सञ्चालनमा भएको थियो ।