रामपुर,पाल्पा । विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सहित स्थानीय युवा परिषद् ऐन संशोधन गर्दै रामपुर नगरपालिका पाल्पाको १६ औँ अधिवेशन सम्पन्न भएको छ ।
हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको छ । सभामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गर्नु भएको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । सभामा नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिन बहादुर सिंजालीले प्रस्तुत गर्नु भएको स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।
नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले उपलब्ध स्रोत साधनले भ्याएसम्म जनताको चाहाना अनुसार विकास र सेवालाई प्राथमिकता दिदै आएको बताउनु भयो । उहाँले जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको बताउनुभयो ।
नगर उपप्रमुख बालकुमारी थापाले वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको दुई करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको जानकारी दिनुभयो । रामपुर नगरपालिका १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले अब जनप्रतिनिधिहरुले गम्भीर रुपमा सोच्ने समय आएको बताउदै सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनु भयो ।
रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठक विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । जनतालाई कसरी हुन्छ सहज र सरल रुपमा सेवा प्रवाहको लागि प्रतिवद्धता जनाउनुभयो ।
रकमान्तर र शीर्षकान्तर प्रस्तावमा आफ्नो धारणा राख्दै वडा नं. १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले विनियोजित बजेट कार्यान्वयनमा विभिन्न बाधा र अड्चन आउँदा समस्या भएको बताउनुभयो । नगरपालिकाले विकास निर्माणका योजनालाई प्रभावित हुन नदिन कडाई गर्नु आवश्यक रहेको बताउनुभयो ।