भुवन सिंजाली
पूर्वखोला, पाल्पा । पुर्वखोला गाउँपालिकाको १६ औं गाउँसभाले गाउँपालिकाका प्रवक्ता तथा गाउँपालिका विद्येयक समिति संयोजक मेहर सिं थापाले प्रस्तुत गर्नु भएको सुर्तीजन्य पदार्थ सम्बन्धि ऐन पारित गरेको छ।

उक्त गाउँसभामा सभाका सचिव एवं प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले गाउँपालिको विभिन्न शाखाबाट सम्पादन गरेको अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै १८ लाख ४२ हजार २ सय ८८ रुपिया राजस्व संकलन गरेको, विकास निर्माणका योजनाहरु मध्ये २० प्रतिशत सम्झौता भएको, ९ प्रतिशत भुक्तानी भएको र पुँजिगत खर्चको १५ प्रतिशत र चालू तर्फ ३३ प्रतिशत गरि जम्मा २९ प्रतिशत खर्च भएको बताउनु भयो ।

सभाले गाउँपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईलेले वडा स्तरबाट र गाउँपालिकाबाट कार्यान्वयन हुने योजनाको नाम संशोधन, रकमान्तर, थप योजना र बजेट बारे प्रस्तुत गर्नु भएको प्रतिवेदन समेत पारित गरेको छ। गाउँसभामा प्रस्तुत भएको ऐन, प्रगति प्रतिवेदन, योजना संशोधन तथा रकमान्तर, थप योजना र सार्वजनिक महत्त्व तथा समसामयिक विषय माथि गाउँसभाका सदस्य भुवन सिंजाली, समुन्द्रा भारति, बासुदेव न्यौपाने, यम बहादुर सारु, चन्द्र सिं वरमेलि लगाएतले सल्लाह सुझाव एवं जिज्ञासा राख्नु भएको थियो ।

गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले गाउँसभामा उठेका जिज्ञासा माथि सम्बोधन र सहजिकरण गर्नु हुदै गाउँपालिकाबाट पारित गरेका नीति कानुनहरु कार्यान्वयन गर्दै जानलाई सचेत गराउनुका साथै विकास निर्माणहरु चाडो सक्काउन र नियमित रुपमा रहेका क्षेत्रको अनुगमन तथा निगरानी गर्न गाउँसभाका सदस्यहरुलाइ निर्देशन गर्नु भएको थियो ।