एवत सारु
रम्भा २, रानीबास, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रम्भा २ फोक्सिङ्गकोट पाल्पाले ७० औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।

कार्यक्रममा २०८१ सालको एसईई तथा राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा सफल हुने विद्यार्थीहरुलाई सम्मान गरि पुरस्कार प्रदान गरिएको थियो । यस अघि प्रभात फेरी कार्यक्रममा विद्यालय प्राङ्गण देखि रानीबास सामुदायिक होमस्टे, कोटथर, वडा कार्यालय परिसर सङ्गै भञ्ज्याङ्गथोक गाउँमा महिला अभिभावकहरुको पन्चे बाजा समूह सहितको टोलीले गाउँ परिक्रम गरिएको थियो ।

कार्यक्रममा २०८१ सालको वार्षिक परीक्षामा उत्कृष्ट हुने विद्यार्थी लाई पुरस्कार प्रदान गरिएको थियो । विद्यालयका प्रधानाध्यापक एवत सारुले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै करिब १ करोड ३१ लाख रुपिया बराबरको आम्दानी खर्च विवरण पेश गर्नु भएको थियो । वहाँले विगत केही वर्ष यता फोक्सिङ्गकोटको एक मात्र माध्यमिक तहको यस विद्यालयले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको बताउँदै कक्षा १२ मा १००%, एसईई परीक्षामा ७१% तथा कक्षा क ८ को परीक्षामा ८० % बढी विद्यार्थी पास भएको साथै खेलकूद क्षेत्रमा समेत उत्कृष्ट स्थान हासिल गरेको बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य भोवीसरा सारुले सीमित भौतिक श्रोत र सीमित शिक्षकका वावजुद राम्रो नतिजा ल्याउन सफल भएकोमा सबैको साथ र सहयोग हुनुपर्ने बताउनु भयो । विशिष्ट अतिथि रम्भा २ फोक्सिङ्गकोटका वडा अध्यक्ष चेतबहादुर सुनारीले रम्भा गाउँपालिकाले यस विद्यालयको भौतिक विकास र उच्च व्यवस्थापनको लागि पहले गरेको बताउँदै थप सफलताको कामना गर्नु भयो । वहाँले विद्यालयको शैक्षिक विकासमा टेवा पु¥याउन २१ हजार ११५ रुपियाको अक्षयकोष समेत स्थापना गर्नु भयो ।

रम्भा गाउँकार्यपालिका सदस्य सरस्वती विक, महेन्द्र आविका प्रधानाध्यापक नारायण मश्राङ्गी, चन्दादाता हेमराज अर्याल, समाजसेवी टेकबहादुर राना, शिक्षक दीपक पाण्डेय, अनु रावल लगायतले विद्यालयको थप प्रगतिको कामना गर्नु भएको थियो ।

कार्यक्रममा हेमराज अर्यालले पूज्यनीय पिता डम्बरप्रसाद अर्यालको स्मृतिमा ३० हजार,शिक्षा पे्रमी चनीसरा सोमैले स्वर्गीय पति मानसिं सोमैको स्मृतिमा ३० हजार तथा वडा अध्यक्ष चेतबहादुर सुनारीले २१ हजार ११५ रुपियाको अक्षयकोष स्थापना गर्नु भएको थियो ।

कार्यक्रममा कक्षा १२ र १० मा अध्यापन गरि शत प्रतिशत विद्यार्थी सफल गराउन सफल हुने शिक्षकहरुलाई सम्मान गरिएको थियो । यस्तै सरुवा भई जाने शिक्षक सुमन गाहालाई समेत सम्मान गरिएको थियो । विद्यार्थी धनीसरा सोमै तथा तिर्सना आलेको संचालनमा चलेको कार्यक्रमको बिचबिचमा रमाईलो साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

विस २०१३ सालमा स्थापित यस विद्यालयमा हाल १८० जना विद्यार्थी अध्ययनरत रहेका छन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुको अध्यक्षतामा चलेको थियो ।