काठमाडौँ, पुस १० गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा ५१ औँ दीक्षान्त समारोह आयोजना गरेको छ । दीक्षान्त समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी भएका छन् ।

त्रिविका अनुसार दीक्षान्त समारोहका लागि विभिन्न तहका परीक्षा उत्तीर्ण गरेका ८९ हजार १९१ जना विद्यार्थी योग्य भएपनि समारोहमा सहभागी हुनका लागि १६ हजार ३८० जना विद्यार्थीले मात्रै परीक्षा नियन्त्रण कार्यालयमा औपचारिक आवेदन दिएका थिए । त्रिविले गत वर्ष आयोजना गरेको ५० औँ दीक्षान्त समारोहमा पनि ७४ हजार १४९ जना परीक्षार्थी योग्य भएकोमा १४ हजार ३०८ जनाले मात्रै समारोहमा सहभागी हुनका लागि फाराम भरेका थिए ।

दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले शिक्षामा लगानी बढाउनु जरुरी रहेको बताउनु भएको छ। उहाँले नेपालमा शिक्षामा लगानी बढाउनु पर्ने र विश्वविद्यालयमा भइरहेको दलीय राजनीतिकरणको अन्त्य गर्न जरुरी रहेको बताउनु भयो।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको समृद्धिको साँचो हाम्रा युवाहरूको हातमा रहेको बताउनु भयो । दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै उहाँले अनवरत जिज्ञासा, कठोर परिश्रम र असफलतासँग जुधेर प्राप्त गरेको विजयको चिनारी नै अहिले प्राप्त गरेको उपाधि रहेको बताउनु भयो ।