तानसेन, पाल्पा । तानसेन नगरपालिका वडा नम्बर ६ ले राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितालाई लक्षित गरी आफ्नो वडाभित्र रहेका दुईवटा माध्यमिक विद्यालयहरूलाई खेलकुदका सामग्रीहरू वितरण गरेको छ ।

राष्ट्रपति रनिङ्गसिल्ड प्रतियोगितामा उत्कृष्ठ नतिजा ल्याउन सहयोग होस भन्ने उद्देश्य र विद्यार्थीहरूलाई खेलकुदको माध्यमबाट प्रतिभा उजागर गर्न सहज होस भन्ने हेतुले खेलकुद सामग्रीहरू हस्तान्तरण गरिएको वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो ।

राष्ट्रपति रनिङ्ग सिल्डमा अघिल्लो आर्थिक वर्षमा पनि उत्कृष्ट प्रदर्शन गरेको जनप्रिय मावि बर्तुङ्ग र सेन मावि अमरगञ्जलाई वडा कार्यालयले हरेक वर्ष शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गर्ने गरेको छ । यसवर्ष पनि वडाध्यक्ष महर्जनले भलिबल, खोखो, ज्याबलिङ थ्रो, सटपुट, हाइ जम्प, लमजम्प, दौड, कराते जस्ता खेलहरूलाई आवश्यक पर्ने खेल सामग्रीहरू हस्तान्तरण गर्नुभयो । उहाँले खेलकुदका सामाग्रीहरुले विद्यार्थीहरूलाई हौसला मिल्ने र स्कुललाई समेत थप जिम्मेवार बनाउने हुँदा आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताउनुभयो ।

जनप्रिय माविका प्रधानाध्यापक हिरा आचार्य र सेन माविका प्रधानाध्यापक भिमलाल बश्यालले वडाको तर्फवाट हरेक वर्ष हुने खेलकुद सामाग्री वितरण कार्यक्रम होस् वा अन्य शैक्षिक गतिविधिमा वडा कार्यालयको तर्फबाट हुने सहयोग प्रशंशनिय रहेको बताउनुभयो । उहाँहरुले वडा कार्यालयले शिक्षाप्रति देखाएको चासो र चिन्ताले बिद्यालय सुधारमा योगदान पुर्याएको बताउनुभयो ।