६ मंसिर, काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गर्दै विराटगरले शतप्रतिशत जित निकालेको हो ।
एनपीएल सिजन टु मा सुदूरपश्चिम रोएल्ससँगै विराटनगर किंग्स मात्र अपराजित छ । विराटनगरले पहिलो खेलमा एनपीएलकै कीर्तिमानी स्कोर बनाउँदै पोखरा एभेन्जर्सलाई पराजित गरेको थियो ।उता उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई हराएर सुखद् सुरुवात गरेको काठमान्डुको यो लगातार दोस्रो हार हो । दोस्रो खेलमा काठमान्डु सुदूरपश्चिम रोयल्ससँग पराजित भएको थियो ।
काठमान्डुले दिएको १३५ रनको लक्ष्य विराटनगरले १७।१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । कप्तान सन्दीप लामिछानेले काठमान्डुका कप्तान करण केसीलाई विजयी चौका प्रहार गरे ।
विराटनगरका लागि ओपनर जर्ज मुन्सेले १६ बलमा ५ चौका र २ छक्का प्रहार गरी सर्वाधिक ३६ रन बनाए । यस्तै मार्टिन गप्टिलले १९ बलमा २ चौका र १ छक्काको मद्दतमा २५ रन जोडे । नरेन भट्टले ३० बलमा १ चौका प्रहार गर्दै २४ रन बनाए ।
टिमको स्कोर २१ हुँदा ओपनर लोकेश बम व्यक्तिगत १४ रनमा आउट भएपछि मुन्से र गप्टिलले ५३ रनको साझेदारी गरेका थिए । बसिर अहमदले १९ रन जोडे । सन्दीपले अविजित ९ रन जोडे ।
बलिङमा काठमान्डुका शाहब आलमले २ तथा कप्तान करण केस, जेरार्ड एरासमस र सन्तोष यादवले समान एकरएक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले पूरै २० ओभर खेल्दा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
एक समय ५६/५ को स्थितिमा रहेको काठमान्डुको इनिङ्स सन्तोष यादव र आदिल आलमले उकासेका थिए । आलमले अविजित ४८ रन बनाएपछि काठमान्डुको स्कोर हेर्न लायक बनेको थियो । आदिल आलमलले सर्वाधिक २५ बल खेल्दै ४ चौका २ छक्का अविजित ४८ रन बनाए ।
सन्तोष र आदिलले छैटौं विकेटका लागि ४६ रनको साझेदारी गरे । यस्तै सन्तोष २६ रन बनाएर आउट भएपछि आदिलले जोन सिम्पसोनसँग अविजित ३३ रनको साझेदारी गरे ।
त्यसअघि काठमान्डुका ओपनर बेन चार्ल्सवर्थले ३३ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा ३२ रन बनाए भने सन्तोष यादवले २४ बलमा १ छक्का मद्दतमा २६ रन बनाए । जेरार्ड एरासमसले १० रन जोडे । बलिङमा विराटनगरका मर्चेन्ट डे लाङले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने र सूर्य तामाङले समान एकरएक विकेट लिए ।
यसअघिको खेलमा कर्णालीका मार्क वाटले अविजित विस्फोटक शतकीय पालि खेलेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकलोको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा कर्णालीले लुम्बिनी लायन्समाथि नौ विकेटको रवाफिलो जित निकाल्यो ।
जितका लागि लुम्बिनीले दिएको एक सय ५७ रनको लक्ष्य पछ्याएको कर्णालीले १२.२ ओभरमा एक विकेटको क्षतिमा एक सय ६१ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।