तानसेन, पाल्पा । पाल्पा साहित्य समाजले पाल्पाली आदिकवि छबिलाल नेपालको १७६ओैं जन्म जयन्ती र शास्त्रकवि माधवप्रसाद देवकोटा १२२ओैं जन्म जयन्तीलाई समेत समेटी आफ्नो ३१ औं वार्षिक दिवस मनाएको छ ।
सो अवसरमा समाजले विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तिहरुलाई सम्मान गरेको छ । कार्यक्रममा समाजसेवी लेखक बुद्धि प्रसाद शर्मालाई भैरवतुल्सी सिंह स्मृति पुरस्कार, स्वास्थ्य साहित्यिक लेखक प्रा.डा. प्रकाशराज रेग्मीलाई आदिकवि छबिलाल नेपाल प्रतिभा पुरस्कार ,साहित्यकार रामप्रसाद अर्याललाई अथक रेग्मी साहित्य पुरस्कार, छन्दकवि होमनाथ काफ्लेलाई गणेश केशव लक्ष्मी स्मृति स्रष्टा सम्मान र समाजसेवी प्रमी श्रेष्ठलाई राधा ईन्द्र समाज सेवा सम्मान पुरस्कारबाट सम्मान गरिएको थियो ।
कार्यक्रममा छविलाल नेपाल, माधवप्रसाद देवकोटा र पाल्पा साहित्य समाजको योगदानबारे जानकारी गराउनुका साथै वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीद्वारा लिखित कृति ‘मुटुका कुरा’ को विमर्श समेत गरिएको थियो । कृतिको विमर्श नेपाल परिवार नियोजन संघ पाल्पाका प्रमुख शोवाकान्त न्यौपानेले गर्नु भएको थियो । समिक्षक न्यौपानेले कृति पठनीय र मननीय रहेकाले मुटुरोगी र सरोकारवालाहरू सबैका लागि स्वास्थ्य खुराकको रूपमा रहेको बताउनु भयो । बिरामीले खोजेका प्रश्नको उत्तर कृतिभित्र रहेकाले पठनीय रहेको उहाँको भनाई छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पाल्पाका प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरले पाल्पाको भाषा कलासंस्कृति र साहित्य क्षेत्रको विकासमा समाजले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा साहित्यकार गणेश नेपाली, पत्रकार भोजराज भट्टराई ,सम्मानित व्यक्तित्वहरू प्रमी श्रेष्ठ ,होमनाथ काफ्ले, रामप्रसाद अर्याल, प्रा.डा. प्रकाशराज रेग्मी, बुद्धिप्रसाद शर्मा, समाजका संरक्षक राजेन्द्र गोपाल सिंह लगायतले आ–आफ्ना धारणा राख्नु भएको थियो ।
समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, समाजका सल्लाहकार चित्रवलीराम सुवालको स्वागत र सचिव सविता भट्टराईको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे । समाजले स्थापनाकालदेखि नै विभिन्न व्यक्तित्वहरूलाई पुरस्कार तथा सम्मान समर्पण गर्नुका साथै कृति प्रकाशन लोकार्पण र विमर्श समेत गर्दै आएको छ ।