रामपुर, पाल्पा। रोटरी क्लव अफ रामपुर, पाल्पाले रामपुर नगरपालिका–६ अवस्थित दरैठाँटी माध्यमिक विद्यालयमा छात्रा शौचालय निर्माण गरी विद्यालयलाई औपचारिक रुपमा हस्तान्तरण गरेको छ।

क्लबका संस्थापक अध्यक्ष एवं लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु पंगेनी र प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटालाई शौचालयको साँचो हस्तान्तरण गर्नुभएको थियो । प्रमुख अतिथि समेत रहनु भएका श्रेष्ठले रोटरी क्लब सामाजिक सेवा क्षेत्रमै अग्रसर संस्थाको रूपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र वातावरण संरक्षणजस्ता क्षेत्रमा क्लब निरन्तर सक्रिय रहेको बताउनु भएको छ। उहाँले आगामी दिनमा पनि ठूला सामाजिक कार्यक्रम सञ्चालनका लागि पहल भइरहेको जानकारी दिनु भयो ।

रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले सेवा भावना बोकेर काम गर्ने संस्थाहरूसँग सहकार्य गर्दै अघि बढ्न नगरपालिकाले प्राथमिकता दिने बताउनु भयो । नगर विकासमा स्थानीय सरकारसँगै रोटरीजस्ता सामाजिक संस्थाहरूको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो। विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटाले छात्रा मैत्री संरचना निर्माणमा सहयोग गरेकामा क्लबप्रति आभार व्यक्त गर्दै निस्वार्थ सेवामै जीवनको आनन्द रहेको बताउनु भयो ।

त्यसैगरी वडा अध्यक्ष दिवाकर देवकोटाले हाल निस्वार्थ सेवाभाव घट्दै गएको समयमा क्लबले गरेको काम प्रशंसनीय भएको उल्लेख गर्नु भयो। कार्यक्रमका दौरान क्लबका पूर्व अध्यक्ष रुद्र नारायण श्रेष्ठ, सागर प्रसाद देवकोटा र कृर्तिनाथ श्रेष्ठले क्लबका गतिविधिबारे प्रकाश पार्नु भएको थियो ।

रोटरी क्लब अफ रामपुरका अध्यक्ष गोविन्द प्रसाद देवकोटाका अनुसार छात्राहरूको स्वास्थ्य र मर्यादालाई ध्यानमा राखी शौचालय निर्माण गरिएको हो। क्लबको दुई लाख र विद्यालयको दुई लाख १२ हजार रुपैयाँ गरी चार लाख १२ हजारको लागतमा निर्माण सम्पन्न गरिएको उहाँले जानकारी दिनु भयो । शौचालयमा पानीको सुविधा सहित प्याड डिस्पोजको व्यवस्था समेत गरिएको छ।

कार्यक्रम रोटरी क्लब अफ रामपुरका अध्यक्ष गोविन्द प्रसाद देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत क्लबकी इलेक्ट प्रेसिडेण्ट राधिका भण्डारीले र सञ्चालन सहकोषाध्यक्ष भुवन अर्यालले गर्नु भएको थियो ।