होम राई मगर
निस्दि, पाल्पा । निस्दी गाउँपालिका पाल्पाले उत्कृष्ट शिक्षक, विद्यार्थी र विद्यालयलाई छनौट गरि सम्मान गरेको छ । अन्तरास्ट्रिय बाल दिवसको अवसर पारेर एक कार्यक्रमका बिच सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।
शैक्षिकसत्र २०८१ सालको आधारभूत तह उत्तीर्ण परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विभिन्न विद्यालयका ३७ जना विद्यार्थी सम्मानित भएका हुन् । त्यसैगरि सोही शैक्षिकसत्रको एस इइ परीक्षामा उत्कृष्ट जिपीए प्राप्त गर्ने ३३ जना विद्यार्थीहरु र कक्षा १२ को अन्तिम परीक्षामा राम्रो गर्ने १२ जना विद्यार्थीहरुलाई समेत सम्मान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा संयोजक नर बहादुर थापाले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा २१ जना शिक्षकहरुलाई समेत सम्मान गर्नुका साथै आधारभूत तह उत्तीर्ण परीक्षामा मित्याल आधारभूत विद्यालय मित्याल, एसइइ परीक्षामा जनप्रिय माध्यमिक विद्यालय मित्याल र १२ कक्षाको परीक्षामा राम्रो गर्ने जनक माध्यमिक विद्यालय झिरुबास र गौरीशंकर माध्यमिक विद्यालय मित्याललाई पनि सम्मान गरिएको थियो ।
आधारभूत तह उत्तीर्ण परीक्षामा अंशुवर्मा माध्यमिक विद्यालय सहलकोटका अनुष्का सिंजाली र एसइइ परीक्षामा सोही विद्यालयकै साजन दर्लामी सर्वोकृष्ट विद्यार्थी घोषित भए भने कक्षा १२ को परीक्षामा गोरखनाथ माध्यमिक विद्यालयका केश कुमारी गाहा सर्वोकृष्ट विद्यार्थीमा सम्मानित भए । कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले मानव संसाधनले बिकासका पूर्वाधारमा सहयोग पुग्ने महसुस गर्दै गत वर्ष देखि शिक्षा क्षेत्रमा प्राथमिकताका साथ शिक्षा क्षेत्रमा बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा अध्यक्ष सारुले शिक्षकको काम पढाउनु मात्र नभई विद्यार्थीहरुलाई असल शिक्षा प्रदान गर्नुका साथै समयसापेक्ष व्यवहारिक र प्रविधिमुखी शिक्षामा जोड दिन सुझाव दिनुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले सम्मानित हुने सबैलाई शुभकामना दिनु हुँदै समाज परिवर्तनमा शिक्षाको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।
गाउँपालिकामा आफू आए पछिको सबैभन्दा ठूलो सम्मान र महत्त्वपूर्ण कार्यक्रम रहेको र यस कार्यक्रमले जनस्तरमा समेत सकारात्मक सन्देश जानेमा आफू विश्वास्त रहेको बताउनुभयो । कार्यक्रम वडा नम्बर-३, झिरुबासका वडा अध्यक्ष नविन्द्र थापा सोती, नेपाल शिक्षक महासंघ निस्दीका अध्यक्ष लाल बहादुर सोती, नेपाल शिक्षक संगठन निस्दीका अध्यक्ष केश बहादुर सुनारी, सम्मानित विद्यार्थी केश कुमारी गाहा लगायतकाले कार्यक्रमको बारेमा बोल्नु भएको थियो ।
सामाजिक विकास समितिका संयोजक तथा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन बालमैत्री शाखा संयोजक कुश्माखर पाण्डेयले गर्नुभएको हो ।