तानसेन, पाल्पा । युनाइटेड मिसन अस्पतालम पाल्पामा सिटी स्क्यान सेवा शुरु हुने भएको छ । विशेष कार्यक्रम गरी उक्त सेवा सञ्चालनको शुभारम्भ गरिने तयारी रहेको अस्पताल प्रसासनले जानकारी दिएको छ ।
अस्पतालले १६० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन जडान गरी सेवा सुरु गर्ने अन्तिम तयारी गरिरहेको छ । अस्पतालका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत जीवन भट्टराईका अनुसार आगामी सातादेखि सेवा सञ्चालनमा ल्याउने योजना रहेको बताउनु भयो । यूनाइटेड मिसन अस्पताल तानसेनले स्वास्थ्य सेवामा नयाँ आयाम थप्दै कार्डियक सेवा सहितको १६० स्लाइसको अत्याधुनिक सेवा सुरु गर्न लागेको भट्टराईले बताउनु भयो ।
भट्टराईका अनुसार सेवा सञ्चालनमा आएपछि यहाँका जनताले विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा पाउनेछन् । २४ सै घण्टा उपलब्ध हुनेगरी सिटिस्क्यान सेवा सुचारु गर्न लागिएको भट्टराईको भनाई छ । सिटी स्क्यान सेवा थप भएसँगै अस्पतालका सेवाग्राहीले उच्च गुणस्तरीय सेवा प्राप्त गर्न सक्नेमा विश्वस्त रहेको अस्पतालले जनाएको छ ।
वि.सं. २०११ सालमा तानसेनमा स्थापना भएको युनाइटेड मिसन अस्पतालले विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । हाल अस्पतालमा २० जना विशेषज्ञ चिकित्सिक कार्यरत रहेको सूचना अधिकारी भट्टराईले बताउनु भयो । अस्पतालले मुटु सम्बन्धी विशेषज्ञ सेवा र मातृशिसु सेवा लगायत अन्य नियमित सेवालाई समेत विस्तार गरेको छ ।