कोलडाँडा, पाल्पा । तिनाउ गाउँपालिका–४ कोलडाँडा पाल्पा स्थित सत्यवती मन्दिरमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना शुरु गरिएको छ ।

भक्तजनले चढाएका नगद भेटी तथा अन्य जिन्सी दान गणना गर्ने काम सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका पदाधिकारी, तिनाउ गाउँपालिकाका कर्मचारी, स्थानीय प्रहरी प्रशासनको रोहबरमा भेटी तथा दान गणना कार्य भइरहेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।

कात्तिक १५ गतेदेखि १९ गतेसम्म सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला लागेको थियो । पहिलो दिन बिहीबार १७ लाखभन्दा बढी भेटी गणना गरिएको समितिका अध्यक्ष गाहाले बताउनुभयो । हाल भेटी तथा अन्य जिन्सी दान गणना कार्य चलिरहेकाले सकिए पनि सबै विवरण सार्वजनिक गरिने उहाँले बताउनुभयो । समितिले पछिल्लो तीन वर्षयता पारदर्शी रुपमा भेटी गणना गर्दै आएको छ । गत वर्ष ३२ लाख ८१ हजार भेटी सङ्कलन भएको थियो । चार दिनसम्म चलेको मेलामा तीन लाखभन्दा बढी भक्तजन सहभागी भएको समितिले जनाएको छ ।

परापूर्वकालमा जङ्गलको बीचमा गएर सत्यबज्यैले शक्ति प्राप्त गरेको उल्लेख छ । बज्यै बहिरी भएका कारण चिच्याएर वर मागे पूरा हुने धार्मिक तथा परम्परागत विश्वास छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहार पर्वपछिको पूर्णिमामा वर माग्ने मेला लागेको छ । वर माग्नका लागि नेपालका विभिन्न स्थानसहित भारतबाट समेत भक्तजन आउने गरेको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो ।