पाल्पा । मित्रराष्ट्र जापान सरकारको सहयोगमा पाल्पाको तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकालाई अत्याधुनिक बारुणयन्त्र दमकल प्रदान गरिएको छ।
यसअघि पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकामा गरी दुई वटा मात्र दमकल भएकोमा थप दुईवटा बारुणयन्त्र भएपछि जिल्लाका अन्य स्थानमा पनि आगलागीका घटना हुँदा समयमै नियन्त्रण गर्न सहज हुने अपेक्षा गरिएको छ ।
दमकल हस्तान्तरणपछि रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले यो सहयोग गाउँपालिकाका लागि ठूलो उपलब्धि भएको बताउनुभयो । उहाँले दमकल समुदायको सुरक्षासँग प्रत्यक्ष सम्बन्धित जीवनरक्षक उपकरण रहेको समेत बताउनुभयो । यस्तै आगलागी तथा अन्य आकस्मिक घटनामा तत्काल र प्रभावकारी प्रतिक्रिया दिन गाउँपालिकालाई अब सहज हुने पनि बताउनु भयो । थियो ।
उहाँले रैनादेवी छहरा, रिव्दीकोट र तिनाउ गाउँपालिकालाई समेत सेवा क्षेत्र बनाएर काम गर्ने उल्लेख गर्नुभयो । यसअघि आगलागी हुँदा तानसेनको बरुणयन्त्र ३१ किमी पश्चिमबाट मगाउनुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । उहाँले दमकलको उचित सञ्चालन र मर्मतसम्भारका लागि विशेष कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
तानसेन नगरपालिकाले पनि दुईवटा दमकल भएपछि अग्नि नियन्त्रणमा सहजता आउने विश्वास लिएको छ । यसअघि एउटा दमकल हुँदा अन्य पालिकामा पनि पठाउँदा तानसेनमा आगलागी हुँदा समस्या हुनेगरेको नगरपालिकाका सूचना अधिकारी भरतप्रसाद आचार्यले बताउनुभयो ।