रिब्दिकोट, पाल्पा । रिब्दिकोट गाउँपालिका–४ स्थित भैरव मेमोरियल बोर्डिङ स्कुल विगत ५ वर्ष देखि लगातार रुपमा गाउँपालिका भित्रको उत्कृष्ट विद्यालय बन्न सफल भएको छ । २०७७ साल देखि यस विद्यालयले निरन्तर रुपमा उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्दै आईरहेको हो ।

गाउँपालिकाले नै सञ्चालन र व्यवस्थापन गर्ने कक्षा ८ को पालिकास्तरीय परीक्षामा विद्यालयले निरन्तर १०० प्रतिशत नतिजा कायम राख्दै रिब्दिकोटको मात्र होइन, पाल्पा जिल्लाको समेत गौरव बनेको हो । विद्यालयले उत्कृष्ट नतिजासँगै अनुशासित शिक्षण प्रणाली, दक्ष शिक्षक र विद्यार्थीहरूको निरन्तर परिश्रमका कारण पछिल्ला वर्षहरूमा शैक्षिक क्षेत्रमा उदाहरण प्रस्तुत गरेको छ ।

प्रधानाध्यापक दिलीप रायमाझीका अनुसार विद्यालयको निरन्तर सफलता शिक्षक, विद्यार्थी र व्यवस्थापनबीचको सुदृढ सहकार्यको नतिजा रहेको बताउनुभयो । उहाँले निरन्तर १०० प्रतिशत नतिजा ल्याउनु कुनै संयोग नभई योजनाबद्ध अध्ययन, शिक्षकको प्रतिबद्धता र विद्यार्थीको आत्मविश्वासको प्रतिफल रहेको बताउनुभयो । रायमाझीले विद्यालयमा गुणस्तरीय शिक्षणलाई मुख्य प्राथमिकता दिइएको बताउँदै शिक्षकहरूलाई नियमित तालिम, विद्यार्थीहरूको व्यक्तिगत अनुगमन र सिकाइमैत्री वातावरण निर्माणलाई विद्यालयको मुख्य नीति बनाइएको जानकारी दिनुभयो । उहाँको नेतृत्वमा विद्यालयले व्यवस्थित शैक्षिक वातावरणसहित जिम्मेवार र आत्मनिर्भर विद्यार्थी उत्पादनमा जोड दिँदै आएको बताउनुभयो ।

२०५३ सालमा स्थापना भएको भैरव मेमोरियल बोर्डिङ स्कुल केही समय स्थगित रहे पनि २०६३ सालदेखि पुनः सञ्चालनमा आएपछि निरन्तर प्रगतिमा अघि बढिरहेको छ । विद्यालयले शैक्षिक नतिजासँगै सांस्कृतिक, खेलकुद, कला र सिर्जनात्मक गतिविधिहरूमा पनि समान महत्व दिँदै आएको छ । विद्यार्थीहरूले गाउँपालिका, जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयको प्रतिष्ठा बढाइरहेका छन् । यससँगै विद्यालयले स्थानीय समुदायसँगको सहकार्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ, जसले विद्यालय र समाजबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको छ ।