बासुदेव ढकाल
रामपुर, पाल्पा । रामपुर नगरपालिका वडा नं. ८ पाल्पाको वडा कार्यालयले विद्यार्थी सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालीहरुको महानपर्व बडादशैं, शुभदिपावली तथा छठ लगाएतका पर्वहरुको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा गंगा माध्यामिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा एसईई र कक्षा १२ को परीक्षामा ए प्लस ल्याउन सफल वडा भित्रका ६ जना विद्यार्थीहरुलाई सम्मान समेत गरिएको छ ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई सम्मानसंगै शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी थापाले राष्ट्र निर्माणमा युवाहरुको सक्रियता महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सकारात्मक सोंच र निरन्तरको मेहेनतले सफलता प्राप्त हुने बताउँदै युवा पुस्तालाई समाजरुपान्तरणको अभियानमा जोडिन आग्रह समेत गर्नुभयो ।

वडाध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा नेपाली कांग्रेस रामपुर ८ का सभापति गंगा बहादुर आचार्य, नेकपा एमाले वडा कमिटी अध्यक्ष शिव प्रसाद अधिकारी, गंगा माध्यमिक विद्यँलयका प्रधानाध्यापक देवराज देवकोटा, ४ नं। टोल विकास संस्थाका संयोजक मुक्तिनाथ न्यौपाने, अपाङ्गता वडा समन्वय समितिका संयोजक देविलाल अधिकारी, खालीवन स्वस्थ्य चौकी प्रमुख सुभाष अधिकारी, पत्रकार रमा भण्डारी, अभिभावक प्रकाश अधिकारी, सम्मानीत विद्यार्थी हिमाली जिटीले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुलाई खादा सम्मान पत्र र नगद सहित सम्मान गरिएको थियो वडा अध्यक्ष दिनेश आचार्यले विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नका लागि सम्मान कार्यक्रम गरिएको बताउनुभयो । उहाँले पर्वहरु आफ्‌नो क्षमता अनुसार मनाउन आग्रह गर्नुभयो । वडा सदस्य विष्णु मायाँ गैरेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको थियो ।