जल्पा, पाल्पा । पूर्वखोला गाउँपालिका वडा नं. २ जल्पा मैदानमा सञ्चालित बृहत् सांस्कृतिक कला महोत्सव तथा पुरुष–महिला भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

महोत्सवमा सिन्धुली कलाघर, न्यू जल्पाली पञ्चे बाजा समूह र स्थानीय कलाकारहरूले नाटक, नृत्य, गायन लगायतका विविध प्रस्तुति दिएका थिए । कार्यक्रममा प्रसिद्ध लोकदोहोरी गायक यामु थापाको बेजोड प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो। कलाघरबाट सुमन थापा मगर, पवित्रा रम्तेल, रिता थिङ, सञ्चिता थापा मगर, जीवन थापा मगर, शृजना गोले तामाङ, निरुता लामा, रुबिना पुलामी मगर, रीता बि.क., गंगा ठटाल, ममता श्रेष्ठ र सुबास लामिछाने लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले कला, संस्कृति र खेलकूदको माध्यमबाट युवाहरूलाई संगठित गर्दै आर्थिक समृद्धि र सामाजिक एकता प्रवर्द्धन गर्न सकिने बताउनु भयो।

नवदुर्गा युवा क्लबको आयोजना तथा रम्भा देवी बाल क्लबको २८औं वार्षिकोत्सवको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो ।