तिनाउ, पाल्पा । तिनाउ गाउँपालिका पाल्पाको झ्याङ्गला गाउँमा लागूपदार्थ दुर्व्यसनी तथा मद्यपान नियन्त्रण सम्बन्धि सचेतनामूलक गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीमा सामुदायिक वन समन्वय समितिका अध्यक्ष दलबहादुर गुरुङले लागूपदार्थ दुर्वव्यसनीको अर्थ, यसको प्रयोग, अल्पकालीन तथा दीर्घकालीन असर र रोकथाममा समुदाय, प्रहरी प्रशासन र स्थानीय सरकारको भूमिका विषयमा प्रशिक्षणमूलक मन्तव्य दिनु भएको थियो । उहाँले घरपरिवार र समाजबाटै लागूपदार्थ दुर्व्यसनी नियन्त्रणमा विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनु भयो ।
तिनाउ गाउँपालिकाका प्रवक्ता यादवप्रसाद अर्याल प्रमुख अतिथि रहेको उक्त गोष्ठीमा उहाँले लागूपदार्थ दुर्वव्यसनी समाजको समस्या र चुनौती रहेको बताउँदै नियन्त्रणका लागि स्थानीय सरकारले सचेतनामुखी अभियान सञ्चालन गर्ने बताउनु भयो ।
दोभान प्रहरी चौकीका ईन्चार्ज रुमबहादुर केसीले देशकै मूल समस्याका रुपमा रहेको लागूपदार्थ दुर्व्यसनीलाई नियन्त्रण गर्ने प्रहरी प्रशासन सक्षम रहेतापनि स्थानीयहरुको साथ सहयोग अनिवार्य रहने बताउनु भयो । उक्त गोष्ठीमा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल, बँदेल पोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लिलबहादुर केसी, थानिडाँडा मावि,व्यवस्थापन समितिका अध्यक्ष शेरजंग थापा, स्थानीयहरु चक्रव्युह थापा,दिलु योञ्जन लगायतले लागूपदार्थ दुर्व्यसनी नियन्त्रणमा आफूहरु आआफ्ना ठाउँमा लाग्नुपर्नेमा जोड दिनस भयो ।
लालीगुराँस महिला समूहको आयोजना र झरना युवा क्लवको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता लालीगुराँस महिला समूहकी अध्यक्ष जानकी थापा गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन यमुना घर्तिमगर र स्वागत रोजी थापाले गर्नु भएको थियो । गोष्ठीमा स्थानीय झ्याङ्गला गाउँका सय बढी बासिन्दाहरुको उपस्थिति थियो ।