देवगीर, पाल्पा । माथागढी गाउॅपालिका वडा ४ निवासी लक्ष्मण बहादुर जिसीले आफ्नो ८१ औं जन्मदिनको अवसरमा माथाढी गाउॅपालिका वडा नं. ४ देवगीर स्थित रत्न माविलाई ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरि दिनु भएको छ ।

विद्यालयमा आयोजित जन्मदिन विशेष कार्यक्रममा जिसीले विद्यालयलाई ५ लाखको चेक हस्तान्तरण गर्नु भएको हो । उक्त कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि माथागढी गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले अक्षयकोय दाता लक्ष्मण बहादुर जिसी धनको मात्र नभई मनको समेत धनी भएकोले यो अवसर जुरेको बताउनु भयो । उहाँले यस किसिमको सहयोगले अन्य मनकारी व्यक्तिहरुलाई पनि यस्तै राम्रो काम गर्न प्रेरणा मिल्नुका साथै शैक्षिक क्षेत्रमा थप जिम्मेवार बन्न सरोकारवालाहरुलाई उत्साह मिल्ने समेत बताउनु भयो ।

कार्यक्रममा अक्षयकोष दाता लक्ष्मण बहादुर जिसीलाई जन्मदिनको शुभकामनाका साथै विद्यालयको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर जिसीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका प्रवक्ता शंकर दर्लामी, ३ नं. वडाका वडाध्यक्ष तेज बहादुर घर्तीमगर र विद्यालयका प्रअ नीर बहादुर सारू लगायतले जन्मदिनको शुभकामना दिनुभएको थियो।

स्मरण रहोस अक्षयकोष दाता लक्ष्मण बहादुर जिसीका स्वर्गीय वुवा बम बहादुर जिसीले रत्न मावि देवगीरलाई जग्गा दान गर्नु भएको थियो ।