काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट हुँदै आएको समकक्षता अब विश्वविद्यालय अनुदान आयोगबाट हुने भएको छ । विदेशी विश्वविद्यालय वा सो सरहको शैक्षिक संस्थाबाट प्रदान हुने शैक्षिक उपाधिको समकक्षता निर्धारण त्रिविको शिक्षाध्यक्षको कार्यालय अन्तर्गतको पाठ्यक्रम विकास केन्द्रबाट हुने गरेको थियो ।
अब १ साउन २०८३ देखि अनुदान आयोगबाट हुने अध्यक्ष प्रा.डा. देवराज अधिकारीले बताउनु भयो । ‘नेपालमा धेरै वटा स्वायत्त विश्वविद्यालयहरू छन् । एउटाले मात्र समकक्षता गर्दा असजिलो भयो । विदेशमा पनि विश्वविद्यालय अनुदान आयोग जस्तो संस्थाले समकक्षता दिने गरेको छ । त्यसैले सरकारले पनि त्रिविबाट आयोगमा पठाएको हो,’ अध्यक्ष अधिकारीले भन्नु भयो ।
केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन २०८२ ले अनुदान आयोगको ऐन संशोधन गरेर समकक्षताको अधिकार दिएको हो । जसमा अनुदान आयोगको ऐनको दफा ६ लाई संशोधन गरिएको छ ।
‘विदेशी विश्वविद्यालय वा सो सरहको शैक्षिक संस्थाबाट प्रदान हुने शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने,’ आयोगको संशोधन गरिएको ऐनमा भनिएको छ । यसअघि त्रिविबाट भएको समकक्षताले मान्यता पाउने छ । अध्यक्ष अधिकारीका अनुसार आयोगबाट समकक्षता सुरु भएपछि दोहोरार्याएर गर्नुपर्दैन ।
‘आयोगले सुरु गर्नु अघि कुनै विदेशी विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाले प्रदान गरेको कुनै शैक्षिक उपाधिको प्रचलित कानुन बमोजिम समकक्षता निर्धारण भएकोमा त्यस्तो विश्वविद्यालय वा शैक्षिक संस्थाको त्यस्तो शैक्षिक उपाधिको हकमा पुनः समकक्षता निर्धारण गर्नु पर्ने छैन,’ ऐनमा भनिएको छ ।
समकक्षता निर्धारण भएको शैक्षिक उपाधि र विश्वविद्यालय वा शैक्षिक संस्थाको विवरण आयोगले प्रत्येक छ महिनामा अद्यावधिक प्रकाशन गर्नु पर्ने प्रावधान पनि राखिएको छ ।