केआर थापा
तेल्घा, पाल्पा । बालबालिकाको सिकाई र व्यक्तित्व विकासलाई लक्षित गरी बालकन्या भगवती आधारभुत विद्यालय तानसेन १०, तेल्घा पाल्पामा प्रोजेक्ट दिक्क्षाना सम्पन्न भएको छ ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट कलेजका दोस्रो वर्षका विद्यार्थीहरुले सञ्चालन गरेको उक्त प्रोजेक्ट मार्फत विद्यार्थीहरुमा सामाजिक भावनाको विकास गराउनुका साथै सामाजिक जिम्मेवारी तथा नेतृत्वकला लगायतको बारेमा सिकाईएको थियो ।

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु दिपिका पौडेल, दिया अग्रवाल, प्रसंशा आचार्य र दिक्षिता क्षेत्रीको सहभागिता रहेको उक्त प्रोजेक्ट कार्यक्रममा विद्यार्थीहरुलाई डिजिटल र वित्तिय साक्षरता, बालअधिकार तथा महिनावारी सम्बन्धी जानकारी र राष्टिय गौरवका विषयमा छलफल गरिएको थियो ।

आर्थिक अवस्था कमजोर विद्यार्थीहरुको शैक्षिक अवस्थामा सुधार पुर्याउने लगायतका लक्ष्य सहित सञ्चालित उक्त प्रोजेक्टमा सहभागी विद्यार्थीहरुको समूहले विद्यालयलाई प्रोजेक्टर सहयोग गर्नुका साथै विद्यार्थीहरुलाई खेलकुद र शैक्षिक सामग्री वितरण, वृक्षरोपण र सरसफाई तथा खेलकुद र चित्रकला प्रतियोगिता लगायतका गतिविधिहरु सञ्चालन गरेको प्रअ लक्ष्मण पौडेलले जानकारी गराउनु भयो ।

बालकन्या भगवती आधारभुत विद्यालयलाई छनौट गरि उक्त प्रोजेक्ट कार्यक्रम मार्फत विद्यालयलाई सहयोग गर्नुका साथै विभिन्न कार्यक्रमहरु सञ्चालन गरेकोमा विद्यालयको तर्फबाट प्रोजेक्ट सञ्चालक टोलीलाई मायाको चिनो सहित धन्यबाद ज्ञापन गरिएको थियो ।