भुवन सिंजाली
देवीनगर, पाल्पा । हरितालिका तिजको अवसरमा महिला उत्थान गाउँसमन्वय समिति देवीनगर पाल्पाको आयोजना र पुर्वखोला गाउँपालिकाको आर्थिक सहयोगमा मातृभूमि माविको प्राङ्गणमा तिजगीत तथा नृत्यकार्यक्रम सम्पन्न भएको छ ।
देवीनगर भित्रका विभिन्न टोलको महिला समुहहरुबाट सहभागीता रहेको कार्यक्रममा महिलाहरु दिदीबहिनीहरुले तिजगीत र नृत्य मार्फत पुरुष सरह अधिकार पाउनु पर्ने, हरेक क्षेत्रमा पुरुष सरह समावेशीता पाउनु पर्ने, हत्या हिंसा र दाइजो प्रथा अन्त्य गर्नु पर्ने, महिलाहरुले समय सापेक्ष प्रविधिको प्रयोगमा पहुँच बढाउनु पर्ने, अन्धविश्वास कुरितीलाई जरैबाट उखेल्नु पर्ने लगायतका विषयमा गीत प्रस्तुत गरेका थिए ।

१३ समूह सहभागी रहेको कार्यक्रमका प्रमुख अतिथि पुर्वखोला गाउँपालिकाका प्रवक्ता तथा देवीनगर वडाका वडाध्यक्ष मेहर सिं थापाले अहिले महिलाहरुलाई राज्यले अधिकारको सुनिश्चितता गरेकोले राष्ट्रको सर्वोच्च पदहरुमा महिलाले नेतृत्व गरेको उल्लेख गर्नु भयो । राज्य संघियतामा गएपछि स्थानीय तहको सरकारमा प्रमुख वा उपप्रमुख महिला हुनु पर्ने, हरेक वडामा अनिवार्य दलित सहित २ जना महिला निर्वाचित गर्नु पर्ने व्यवस्थाले गर्दा स्थानीय तहको सरकारमा महिलाको उपस्थिति पुरुषसंग बराबरको अवस्था भएको बताउनु भयो ।

विभिन्न तहको सरकारी जागिरमा समेत महिला कोटा अनिवार्य भएकोले अहिले महिला कर्मचारीहरुको उल्लेखनीय सहभागीता बढीको पनि बताउनु भयो । उहाँले महिलाहरुले पनि आर्थिक, सामाजिक र राजनीति क्षेत्रमा महत्त्वपूर्ण भुमिका बढाएकोले समाज परिवर्तनमा छिटो विकास भएको भन्दै तिजको शुभकामना समेत दिनु भयो ।
पुर्वखोला गाउँ कार्यपालिकाका सदस्य रेवति सरा घर्तीले सार्वजनिक ठाउँ तथा क्षेत्रमा कुनै न कुनै रुपले महिलालाई हेर्ने दृष्टिकोण, व्यवहारमा फरक रहेकोले त्यसमा सुधार गर्नु पर्ने अवस्था रहेको र महिला मैत्री समाज निर्माण गर्न सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो ।

देवीनगर वडाका सदस्य लक्ष्मी विक, मातृभूमि माविका प्रअ यम बहादुर खत्री, मुकुन्द प्राविका प्रअ लक्किमाया सिंजाली र कल्पना सिंजाली लगायतले महिला अधिकार र तिजको बारेमा बोल्दै शुभकामना दिनु भएको थियो । कार्यक्रम महिला उत्थान गाउँ समन्वय समितिका सचिव चुनि सरा थापाको संचालन र अध्यक्ष विष्णुमाया घर्तीको अध्यक्षतामा सम्पन्न भएको थियो ।