एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज २०८२ को अवसर पारेर रम्भा गाउँपालिकाको आर्थिक सहयोग र २ नं. वडाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।

महिला समन्वय समिति फोक्सिङ्गकोटले प्रतियोगिताको समन्व गरेको थियो । महिला हक, महिला सशक्तिकरण, महिला उत्पीडन, महिला अधिकार जस्ता विषयलाई केन्द्रित गरी संचालन गरिएको प्रतियोगितामा श्रम आस्था महिला समूह रानीबास पहिला भएको छ । यसै गरी कोटथर महिला समूह कोटथर दोश्रो, भैरव महिला समूह झर्लेङ्ग तेश्रो तथा बोरोङ्गसे महिला समूह बोरोङ्गसे सान्त्वना भएका छन ।

फोक्सिङ्गकोटका साविकका वडाहरुबाट सहभागी ११ समूहले भाग लिएको प्रतियोगितामा विजयी तथा सहभागी समूहलाई प्रमुख अतिथि २ वडाका वडा अध्यक्ष चेतबहादुर सुनारी, महिला अधिकारकर्मी तथा अधिवक्ता गीता शर्माले नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा महिला विकास तथा महिला सशक्तीकरणमा सहयोग पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि २ नम्बर वडा फोक्सिङ्गकोटका वडा अध्यक्ष चेतबहादुर सुनारीले महिला अधिकार, महिला विकास र महिला सशक्तिकरणका लागि स्थानीय सरकार सदैव महिलाको पक्षमा भएको बताउँदै अबको युग महिलाहरु स्वयम जागरण भई विकास गर्ने दिन आएको बताउनु भयो ।

कार्यक्रममा अधिवक्ता गीता शर्मा, रम्भा गाउँकार्यपालिका सदस्य सरस्वती बिक, रानीबास सामुदायिक होमस्टेका अध्यक्ष देउकुमारी सारु, उपहार महिला सहकारी संस्थाका अध्यक्ष गंगीसरा सिंजाली, वडा सचिव धनकुमारी सारु, भवानी प्राथमिक विद्यालयका प्रधानाध्यापक घनबहादुर सारु लगायतले महिलाहरुको समय सापेक्ष विकास हुन अझै बाकि रहेको र महिलालाई थप भुमिका दिनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रम महिला समन्वय समिति फोक्सिङ्गकोटका अध्यक्ष उमीसरा सुनारीको अध्यक्षता र सचिव भगवती मश्राङ्गीको अध्यक्षतामा चलेको थियो ।