रैनादेवी, पाल्पा । पाल्पाको रैनादेवी छहरा कटौजेपानीमा आयोजित वडा स्तरीय तिजगीत प्रतियोगितामा वडा न ५ मुझुङ्गको समूह पहिलो भएको छ । यस्तै वडा नं. ६ जुठापौवाको समूह दोस्रो र वडा नं. ८ सत्यवतीको समूह तेस्रो भएका भए । विजेता समूहलाई क्रमशः २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा रैनादेवी छहराका आठैवटा वडाले भाग लिएका थिए। उनीहरूले परम्परागत लय र भाकामा तयार पारिएका गीतहरू मार्फत स्थानीय सरकारसँग विभिन्न माग र सुझावहरू प्रस्तुत गरेका थिए। जसमा जंगली जनावरको नियन्त्रण, बसाइँसराइ रोक्न, महिला हिंसा र बलात्कारजस्ता घटनामा गम्भीर बन्न तथा अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने विषयहरू समावेश थिए।
कार्यक्रममा सहभागी महिला समूहहरूले रैनादेवी छहरामा गाउपालिकामा भएका विकास निर्माण, शिक्षा, स्वास्थ्य र गाउपालिकाका सरकारका कामहरूलाई समेत गीत मार्फत उजागर गरेका थिए। कार्यक्रम प्रमुख अतिथि रैनादेबी छहराका अध्यक्ष रुकमाङ्गत भट्टराईले यस प्रकारको मौलिक तीज गीत प्रतियोगिताले लोप हुँदै गएको परम्परागत तीज संस्कृतिलाई संरक्षणमा सहयोग पुग्ने बताउनु भयो ।
उपाध्यक्ष युवराज थापाले तीज पर्वको शुभकामना दिँदै पछिल्ला वर्षहरूमा तीज गीतका नाममा छाडापन र संस्कृतिभन्दा बाहिरका विषयहरू हावी भएकोले मौलिकता जोगाउन यस्तो कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्नु भयो । उपाध्यक्ष थापाको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको सञ्चालन शिक्षा अधिकृत निसा पाण्डेले गर्नु भएको थियो ।