एवत सारु
रानीबास, पाल्पा । सानाहुँगी माध्यमिक विद्यालय रानीबास पाल्पाको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुको अभिभावक, विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरु बिच शैक्षिक अन्तरक्रिया सम्पन्न भएको छ ।
विद्यालयको मिनि सभा हलमा संचालन गरिएको अन्तर क्रिया कार्यक्रममा कक्षा १० मा अध्ययनरत २३ जना विद्यार्थी, उनीहरुका अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा प्रथम त्रैमासिक परीक्षाको नतिजालाई आधारको रुपमा लिएर गहिरो छलफल चलाईएको थियो । कार्यक्रममा गणित शिक्षक कमलप्रसाद गैरे, विज्ञान शिक्षक कृष्ण पंगेनी उपाध्याय, अंग्रेजी विषय शिक्षक कृष्ण पन्थी, नेपाली शिक्षक दीपक पाण्डे लगायतले आफ्नो विषयमा विद्यार्थीले हासिल गरेका प्रगति विवरण पेश गर्नु भएको थियो । कार्यक्रममा अर्थशास्त्र शिक्षक देवेन्द्र सारु तथा सामाजिक विषयका शिक्षक अनु रावलले विद्यार्थीका सबल पक्ष र सुधार पक्षबारे विषयगत जानकारी गराउनु भएको थियो ।
प्रधानाध्यापक एवत सारुले विद्यालयले विगत केही वर्ष यता शैक्षिक गुणस्तर कायम गरेको र यसको निरन्तरताको लागि विद्यार्थी, अभिभावक र शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै आगामी दिनमा सबैको साथ र सहयोगले विद्यालयको शैक्षिक विकास गर्नु पर्ने बताउनु भयो ।
अन्तर क्रियाले २०८२ सालको एसइइ परीक्षामा राम्रो नतिजा ल्याउन गणित, अंगे्रजी र विज्ञान विषयको अतिरिक्त कक्षा संचालन गर्ने निधो भएको छ । अन्तरक्रियामा विद्यार्थीले आचार संहिता लागू गर्नु पर्ने, समयको पालना गर्नुपर्ने, मोबाईलको दुरुपयोग गर्न नहुने, लगनशील र मिहेनती हुनुपर्ने, भोजभतेर र मेला जान बन्देज लगाउनुपर्ने लगायतका विषयमा सर्वसहमतीले निर्णय गरेको छ ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष दिलमाया पाडे मगरले सबै विद्यार्थीले अनुशासन, मिहेनत र सकारात्मक पहल गरेमात्र सफलता प्राप्त हुने बताउनु भयो । कार्यक्रम शिक्षक दिपक पाण्डेयको संचालन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिमबहादुर सारुको अध्यक्षतामा चलेको थियो ।