एवत सारु
फोक्सिङ्गकोट, पाल्पा । रानीबास आधुनिक प्रविधि जल उपभोक्ता समूह रम्भा -२ फोक्सिङ्गकोटको १९ औं साधारण सभा सम्पन्न भएकोे छ ।

रानीबासको ठूलो पिपरपोखरी खेल मैदानमा भएको साधारण सभामा उपभोक्ता समूहका कोषाध्यक्ष गनबहादुर गाहाले १ लाख ८८ हजार रुपिया बराबरको आम्दानी खर्चको विवरण सुनाउनु भयो ।

सभामा समूहले गत आर्थिक वर्षमा गरेका कार्यप्रगति बारे सचिव विमलादेवी पाडेमगरले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।  सभाले नयाँ धारा जडान गर्न चाहने नयाँ उपभोक्ताको लागि शुल्क समेत निर्धारण गरेको छ ।

रम्भा गाउँपालिका वडा नं. २ रानीबासमा २०६३ सालमा रानीबास आधुनिक प्रविधिमा आधारित जल उपभोक्ता समूहको स्थापना भएको थियो ।  झण्डै ४५० मिटर तल रहेको कयनखोलाको पानीलाई ४ चरणमा लिफ्टिङ्ग गरी पानी बस्ती सम्म पु¥याइएको छ ।  हाल रानीबास गाउँका ९६ घरकुरीया, कोटथर गाउँका ६७ घरकुरीया तथा सानाहुँगी माध्यमिक विद्यालय तथा २ नं. वडा कार्यालयलाई खानेपानी तथा सिंचाई पानी उपलब्ध गराइएको छ ।

साधारण सभामा दिलमाया पाडे मगर, समाजसेवी भिमबहादुर सारु, शिक्षक देवेन्द्र सारु, जितबहादुर गाहा लगायतले खानेपानीको संरक्षण र विस्तारमा आफ्ना विचार राख्नु भएको थियो ।  कार्यक्रम समूहका सदस्य बिरबहादुर गुरुङ्गको संचालन तथा उपभोक्ता समूहका अध्यक्ष मनबहादुर गाहाको अध्यक्षतामा चलेको थियो ।