रामपुर पाल्पा । लुम्बिनी प्रदेशका माननीय स्वास्थ्यमन्त्री तथा आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाल्पाका सल्लाहकार खेम बहादुर सारुले भाषा कला संस्कृति प्रस्तुत गरिरहँदा आदिवासी जनजातिमा भएको कला र संस्कृतिको संरक्षण हुनुपर्ने बताउनु भएको छ ।

३१ औं विश्व आदिवासी दिवस २०८२ मुल समारोह रामपुरको प्रमुख अतिथिको रुपमा मन्तव्य व्यक्त गर्नु हुँदै उहाँले आदिवासी जनजातीको अधिकार स्थापीत गर्न प्रदेश सरकारले महत्वपुर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री सारुले आदिवासी जनजातिको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्नुपर्ने जिम्मेवारी अहिलेको पुस्तामा रहेको बताउनुभयो । उहाँले आदिवासी जनजातिहरु राज्य सञ्चालनको मुल प्रवाहमा आउनुपर्ने भन्दै त्यसको लागि नेतृत्व विकास गर्न जरुरी रहेको पनि बताउनुभयो ।

कार्यक्रमका प्रमुख वक्ता तथा आदिवासी जनजाती महासंघका सल्लाहकार संयोजक अधिवक्ता केहरसिंह रानामगरले आदिवासी जनजाती संग स्थानीय सरकारले विभिन्न क्षेत्रमा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यका तीनै तहका सरकारले आदिवासी जनजातीका क्षेत्रमा सर्वोच्च अदालतले गरेको फैसला अनिवार्य रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति माननीय राजु प्रसाद श्रेष्ठ, रामपुर नगरपालिकाका कार्यवाहक नगरप्रमुख कपिल खाँड, समाजसेवी सन्दिप थापा, आदिवासी जनजाती महासंघ पाल्पाका अध्यक्ष गम बहादुर थापालगाएतले शुभकामना व्यक्त गर्नुभयो ।

प्राकृतिक स्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर स् युएनड्रिप र आइ।एल।ओ। १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मुल नाराका साथ मनाईएको ३१ औं विश्व आदिवासी दिवस समारोहमा आदिवासी जनजाति महासंघ, विभिन्न जातिय संघ, संगठन र संस्थाका नेता, कार्यकर्ता तथा सर्वसाधारण नागरिकको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न जातजातीको संस्कृति झल्कने नाचगान समेत प्रस्तुत गरिएको थियो ।