बुटवल । रुपन्देहीका प्रतिष्ठित शैक्षिक संस्थाहरूसँग विद्यार्थीहरूलाई प्रत्यक्ष जोड्ने उद्देश्यका साथ शुक्रबार बुटवलमा ‘शिक्षा एक्स्पो’ सम्पन्न भएको छ ।
करेन्ट नुडल्सको सहयोगमा करियर गाईडको आयोजनामा बुटवलमा भएको कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका शिक्षाबिद दल बहादुर गुरुङले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने राम्रा कलेजहरु स्वदेशमै पर्याप्त रहेको बताउनु भयो ।

उहाँले नेपालमा १४ सय बढी कलेजहरु रहेको र उक्त कलेजहरुमा ३ लाख ५० हजार विद्यार्थी पढाउन मिल्ने भएपनि केवल दुई लाखले मात्र पढ्ने गरेको तथ्याक प्रस्तुत गर्नु भयो । सरकारबाट पढ्दै कमाउँदै जस्ता शैक्षिक कार्यक्रम र योजना ल्याईएको समेत उल्लेख गर्नु भयो । कार्यक्रममा समाजसेवी चुन्नूप्रसाद पौडेलले नेपालकै कलेजको सक्षमता बुझाउने गरि महत्वपूर्ण कार्यक्रम गरिएको बताउनु भयो।

बुटवल मिलनचोकस्थित सिद्धार्थ कटेजमा गरिएको एक्स्पो कार्यक्रममा करियर गाईडका लुम्बिनी प्रदेश अध्यक्ष जिवन पाण्डेले प्लस टु लक्षित गरि गरिएको एक्स्पोमा १३ कलेजका स्टलहरु राखिएको बताउनु भयो । शिक्षाकै लागि ठूलो संख्यामा युवा र रकम समेत बाहिरिरहेको भन्दै उहाँले यसलाई रोक्न जरुरी रहेको बताउनु भयो ।
एक्स्पोमा इञ्जिनियरिङ, म्यानेजमेन्ट, स्वास्थ्य विज्ञान, सूचना प्रविधि, कृषि, होटल म्यानेजमेन्ट लगायतका विषयमा स्नातक र स्नातकोत्तर तहका कार्यक्रम प्रस्तुत गरिएको थियो । सहभागी संस्थाहरूले विद्यार्थीहरूलाई पाठ्यक्रम, शुल्क, छात्रवृत्ति, करियर गाइडलाइन लगायतका जानकारी दिएका थिए ।