माया केसी
बुटवल । देव दहकी देवु भट्टराई ५१ वर्षकी भइन । उनले भर्खरै कक्षा १२ पास गरेकी छन् । अधुरो शिक्षालाई पुरा गर्ने रहरलाई पुरा गर्ने क्रममा उनले देव दहमा रहेको देव दह मावि बाट कक्षा १२ पास गरेकी हुन् । दिनभरि धान रोपिरहेकी भट्टराईलाई साँझ एक्कासि पास भएको खबर आफ्नै छोराले दिँदा आँखाबाट आँसु खसेको पत्तै भएन ।
उनी भन्छिन्–‘सबैभन्दा खुसीको कुरा यो उमेरमा पढेर के गर्ने हो रु भन्नेहरूका लागि यो सफलताले जवाफ दिन्छ । भर्खरै स्व। भएकी सासूको उत्साह र प्रेरणाले आफूले आज भन्दा चार वर्ष अगाडि साधना महिला विद्यालयमा कक्षा ९ बाट अध्ययन सुरु गरेको थिइन । तर यो वर्ष खुसीको खबर सासूलाई सुनाउन नपाउँदा दुःख लागेको उनी बताउँछिन् ।
‘समाजको अगाडि बुहारीले पनि पढ्नुपर्छ, समाजको नेतृत्व लिनुपर्छ भन्ने मेरो सासू हुनुहुन्थ्यो तर यो खुसी देख्न उहाँले पाउनुभएन,’ उनले भनिन् । बिहे अगाडि बुटवलको कालिका माविमा कक्षा ९ सम्मको अध्ययन गरेकी भट्टराईलाई अधुरो शिक्षा पुरा गर्ने धोका धेरै रहेको थियो । भित्री मनबाट आएको रहर पुरा गर्न त्यति गाह्रो नहुँदो रहेछ ।
घरको काम छोराछोरी, जिम्मेवारी समाज प्रतिको दायित्व सबैलाई मिलाएर पढेकी हुँ पास भएँ, उनले भनिन् । उनले कक्षा १२ को नतिजामा ३।०१ जिपिए ल्याएर पास गरेकी छन् । भट्टराई २०७३ सालमा देव दह नगरपालिका वडा नं ८ को महिला सदस्य निर्वाचित भएर काम गरिन । त्यसपछि त्यही अनुभवले वडालाई समाल्न सक्छु भनेर २०७९ सालमा वडाध्यक्ष उठ्ने इच्छा भए पनि संयोग मिलेन तर पनि आँट चाहिँ थियो ।
अझै पनि छ, राजनीतिबाट समाज रूपान्तरण गर्न सक्छु भन्ने । यसरी काम गरिरहँदा पढाइ पनि अति अनिवार्य हुने भएकाले पढेँ । अझै अगाडी पनि पढ्ने हो । तीन सन्तानकी आमा भट्टराईका सबैले आफ्नो अध्ययन सकेर आ आफ्नो काममा छन् । उनी पढाई, खेती किसानी र घर व्यवहार समाल्दै समाज पनि समाल्न आफूलाई बलियो रूपमा तयारी गरिरहेकी छन् ।
सोही विद्यालयकी राधा चापागाईँले विगत २२ वर्षदेखि देव दहमा फेन्सी पसल सञ्चालन गरिरहेकी छन् । २०५५ सालमा एसएलसी पास गरेकी उनलाई बिहे पछि पढ्ने वातावरण मिलेन । कपिलवस्तुको पिरा माइती भएकी चापागाईँ भन्छिन्, हामी सात भाइ बहिनी बुबा सामान्य खेती किसानी सबैलाई पढाउन पनि आर्थिक रूपमा गाह्रो थियो त्यसैले सानैमा बिहे गरिदिनु भयो ।
त्यसपछि पढाई अधुरो रह्यो । उनमा पनि पढ्ने चाहाना उत्तिकै थियो । लामो समयसम्म यो अवसर जुरेन । तर गत वर्ष पढ्ने निधो गरे श्रीमान् छोराहरूले साथ दिए । पसललाई व्यवस्थापन गर्दै विद्यालय गएँ । ४४ वर्षमा २।९४ जिपिए ल्याएर कक्षा १२ पास गरे खुसी छु, मसँगै परिवार खुसी छ, उनले भनिन् । २०५८ सालमा एसएलसी पास गरेकी सुशीला अर्याललाई पहिले पढ्ने वातावरण भए पनि पढ्न रुचि लागेन । घर परिवार र सन्तानको खुसीमा रमाउँदै दिनहरू बिते ।
स्थानीय पानवारी महिला बाख्रा पालन सहकारी संस्थामा व्यवस्थापकको जिम्मेवारी निभाउँदै आएकी अर्याललाई अब प्रतिस्पर्धामा पढाइ पुरा भएन भने काममा पछाडि परिन्छ भन्ने भयो । अनुभवले मात्रै पुग्दैन भन्ने लागेपछि उनले आफ्नो पढाइलाई पुन जोडेकी थिइन । स्थानीय देव दह माविमा कक्षा ११ मा भर्ना भएर पढाइ सुरु गरे पनि दिउँसोको पढाई ले गर्दा विद्यालय र सहकारीको काम मिलाउन गाह्रो भएको थियो ।
अर्यालले धेरैजसो रातीमा पढ्ने गरेको सुनाइन् । आफूसँगै कक्षा १२ मा होराईजन स्कुल पढ्ने छोरीसँगै धेरै कुरा सिक्ने अवसर रह्यो उनलाई । त्योसँग विद्यालयमा शिक्षकहरूको सहयोगी भावनाले आफूले यो वर्ष छोरी भन्दा पनि बढी अङ्क सहित कक्षा १२ उत्तीर्ण गर्न पाउँदा खुसी र दुःखी दुवै मिश्रणको अवस्था रहेको बताइन । उनी भन्छिन्–‘म एउटी आमा हुँ सन्तानको खुसीका लागि प्रार्थना गर्ने म आफूले भन्दा छोरीले धेरै जिपिए ल्याएको हेर्ने मन थियो त्यो पुरा नहुँदा दुःख लागेको छ ।’
अर्याल ४० वर्षको उमेरमा २४ वर्षपछि पुनः विद्यालयमा भर्ना भइन । र, ३।२२ जिपिए ल्याएर कक्षा १२ पास गरेकी छन् । यो पछि पनि उनले अध्ययनलाई निरन्तरता दिने सोचमा रहेको बताइन । घरमा कामको बाँडफाँड श्रीमानको साथ र सहयोगले नै पढाइलाई निरन्तरता दिएर अगाडि बढ्न सफल भएको अर्यालको भनाइ छ ।
४५ वर्षकी जितकुमारी रानाले पनि यो वर्ष कक्षा १२ पास गरेकी छन् । अधुरो शिक्षालाई अगाडि बढाउन उनले ४ वर्ष अगाडि साधना महिला विद्यालयमा कक्षा ९ मा भर्ना भएर पढाई सुरु गरेकी हुन् । कक्षा ८ मा पढ्दापढ्दै पढाउने सर्तमा बिहे भए पनि पारिवारिक समस्याले पढ्न नपाएकी रानाले दुई सन्तानले पढाई पुरा गरेर रोजगारीका लागि बाहिर गई सके पछि बल्ल पढाई सुरु गरेकी हुन् ।
राना भन्छिन्–‘म पढ्नैकै लागि पढेको हो ।
आफूले रहरका बेलामा पढ्न नपाएका किताबका पानाहरू पल्टाउनका लागि पढेकी हुँ । पढ्न सुरु गर्दा श्रीमालाई भात पकाउन लगाएर केका लागि पढेकी, अब जागिर खान छैन , विदेश जान हो कि राजनीति गर्न हो भनेर दिनहुँ प्रश्न माथि प्रश्न गर्नेहरूको कमी थिएन तर म आत्मसन्तुष्टिको लागि पढेकी हुँ भन्दा पत्याउनेको सङ्ख्या कमी थियो ।
जसले जे भने पनि मैले पढिरहे सोमबार रिजल्ट आयो भन्दा हात खुट्टाहरू काँपे । तर पनि पास हुन्छु भन्ने विश्वास थियो । खुसीले आँसु बगे हिजो किन पढेकी भन्नेहरूका लागि पास भएर मौन जवाफ दिए जस्तो लाग्छ । रानाले २।३० जिपिए ल्याएर देव दह माविबाट कक्षा १२ पास गरेकी हुन् । उनले दैनिक रूपमा देवदहको ढेकारमा ४० जनालाई निःशुल्क योगा सिकाउने काम गर्दै आएकी छिन् ।
अबका दिनमा प्राविधिक शिक्षा सिक्ने रहर छ त्योसँगै पारिवारिक जिम्मेवारी पनि के हुन्छ समयले बताउँछ । देवदह माविमा यो वर्ष कक्षा १२ मा ४३ जना विद्यार्थी परीक्षामा सहभागी भएका मध्ये २८ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यी अधुरो शिक्षा पुरा गर्नका लागि भर्ना भएका ७ मध्ये ६ जना उत्तीर्ण भएको विद्यालयका शिक्षक इन्दिरा अर्यालले बताइन ।
विद्यालयमा भर्ना भएका पाका विद्यार्थीहरूलाई सबै शिक्षकहरू विद्यालय समयसँगै बिहान र बेलुका उनीहरूको फुर्सदको समयमा पनि सिकाउने पढाउने गरेको प्रतिफल रहेको बताइन । यस्ता अधुरो शिक्षा पुरा गर्न चाहने विद्यार्थीहरूका लागि स्थानीय सरकारको साथ र समर्थन आवश्यक छ उनीहरूलाई हौसला दिन सके समाजमा रहेका धेरै पाका विद्यार्थी आफ्नो अध्ययन पुरा गर्न सक्नेछन् ।
गत वर्ष देव दह नगरपालिकाले दिउँसो मात्रै अध्ययन गराउने नीति ल्याउँदा यस्ता अधुरो शिक्षा पुरा गर्नेहरूलाई ठुलो अप्ठ्यारो पुगेको छ । उनीहरू शतप्रतिशत विद्यालयमा हाजिरी हुन सकेनन् । बिहानको पठनपाठन भएको भए दिउँसो व्यवसाय र जागिर गर्नेहरूका लागि सहज हुने उनीहरूको भनाइ छ ।शिक्षक अर्याल भन्छिन्–‘हामीले जोखिम मोलेका हौँ ।
धेरैले रिजल्ट राम्रो आउँदैनन् प्रतिशत राम्रो देखिँदैन भन्ने सम्मका कुरा थिए तर हामीले उनीहरूलाई प्रोत्साहन गर्दे पढ्नका लागि वातावरण तयार गरेका थियौ । विद्यालयले कसरी पाका विद्यार्थीहरूलाई हौसला दिन सकिन्छ भनेर योजना नै बनाएर काम गरेका थियौँ, रिजल्टले खुसी दियो ।’ पाका उमेरका ६ जना विद्यार्थीले राम्रो नम्बर लिएर उत्तीर्ण गरेपछि विद्यालय परिवार खुसी छ ।