रामपुर, पाल्पा । रामपुर आधारभूत विद्यालय रामपुर नगरपालिका–५ मटेरी पाल्पाका विद्यार्थीले नागपञ्चमीको अवसरमा अष्टनाग अङ्कित चित्र तयार पारेर बिक्री गरेका छन् ।
नागपञ्चमी पर्वको अवसर पारेर यहाँका विद्यार्थीले अष्टनाग चित्र बनाएर विद्यालय तथा घरघरमा बिक्री गरेका हुन् । कक्षा ३ देखि ८ सम्म अध्ययनरत विद्यार्थी आफैँले बनाएका करिब सात सय बढी नागको चित्र बिक्री भएको प्रधानाध्यापक विजय शर्माले जानकारी दिनु भयो ।

आफुहरुले सैद्धान्तिक ज्ञानलाई मात्र नभई व्यावहारिक ज्ञान, संस्कारसहितको शिक्षा दिएको बताउदै प्रधानाध्यापक विजय शर्माले आफूले तयार पार्न सक्ने कुरामा फजुल खर्च गर्नु नहुने, मौलिक संस्कृतिमा जोड दिनु पर्ने र पर्वअनुसार प्रयोगमा आउने विभिन्न ज्ञान, सीप विद्यार्थीलाई दिइरहेको समेत उल्लेख गर्नु भयो ।

विद्यार्थीले तयार पारेको चित्र अभिभावक, शिक्षक तथा स्थानीयवासीले मन पराएर खरिद प्रति तस्बिर रु १० मा बिक्री गरेको कक्षा ८ मा अध्ययनरत छात्र भाष्कर विनायक गौतमले बताउनु भयो । यस कार्यले आफ्नो संस्कृति संरक्षण र अर्कातर्फ विद्यार्थीले आम्दानी गर्ने माध्यम बनेको छ ।
बाहिरबाट आयातित तस्बिरलाई निरुत्साहित गर्न आफुहरुले अष्टनागको चित्र बनाएका बताउदै छात्र गौतमले नागको चित्र विक्री गरी जम्मा भएको रकम बचत गरेर राखेको आगामी दिनहरुमा शैक्षिक क्षेत्रमा नै खर्चने सोच रहेको जानकारी दिनु भयो।
यहाँका विद्यार्थीले घरायसी प्रयोगमा आउने डोको, नाम्लो, ढकियाजस्ता सीप समेत सिकेका छन् । घरघरमा करेसाबारी बनाएर तरकारी लगाउने पनि गरिरहेका छन् ।