देवीनगर, पाल्पा । पूर्वखोला ४, देवीनगर पाल्पाका ६९ जना बाख्रा पालक कृषकहरूले उत्पादनमा आधारित अनुदान रकम प्राप्त गरेका छन्

देवीनगर महिला कृषि सहकारीको आ.व. २०८०र८१ को लेखापरीक्षण प्रतिवेदनको आधारमा ५५ हजार ३७० रुपैयाँ रकम प्राप्त गरेका हुन् । गत आवमा १६१ वटा खसीबोकाको ५ हजार ५३७ केजी मासु बिक्री गरी प्राप्त २४ लाख ४३ हजार ६२० रकमबाट प्रति किलो १० रुपैयाँमा १.५ प्रतिशत कर कट्टी गरी हुन आएको रकम कृषकहरूलाई भुक्तान गरिएको हो ।

देवीनगर वडा सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रवक्ता तथा ४ नं वडाका वडाध्यक्ष मेहर सिंह थापाले पूर्वखोला गाउँपालिकाले पूर्वखोला कृषि तथा पशु विकास परियोजना मार्फत उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई आगामी बर्षहरूमा समेत निरन्तरता दिईने बताउनु भयो ।

उहाँले यस्तै कार्यक्रम यस बर्ष पूर्वखोला गाउँपालिकाको सिलुवा र जल्पामा समेत रहेको साथै आगामी दिनहरूमा पालिकाका अन्य वडाहरूमा समेत क्रमस लागु गरिने जानकारी गराउनु भयो ।

कार्यक्रममा कार्यपालिका सदस्य रेवतीसरा घर्ती र भुवन सिंजाली लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो । कार्यक्रम सहकारीका उपाध्यक्ष भगवती घर्तीको स्वागत, सहकारीका अध्यक्ष अम्विका थापाको अध्यक्षता तथा परियोजना संयोजक राजकुमार आलेको संचालनमा सम्पन्न भएको थियो ।