खुमबहादुर पौडेल
ताहुँ, पाल्पा । रम्भा गाउँपालिका वडा नं. ५ को ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा गाउँपालिकाको सहयोगमा खरिद गरीएको डिजिटल एक्सरे मेशिन जडान भएको छ ।

ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको उक्त एक्सरे सेवाबाट हुमीन, पिपलडाँडा, फोक्सिङ्कोटका साथै पूर्वखोला गाउँपालिकाको हेक्लाङ, देवीनगर र बीरकोट लगायतका बासिन्दालेसमेत सेवा लिन पाउने छन् ।

मेशनि जडानपछि एक्सरे सेवा शुभारम्भ गर्दै गाउँपालिका रम्भा गाउँपालिका अध्यक्ष विष्णप्रसाद भण्डारीले जनतालाई घरदैलोमै सेवा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाको लगानीमा डिजिटल एक्सरे मेशिन जडान गरिएको बताउनु भयो । उहाँले ताहुँमा मेडिकल अधिकृतसहतिको सेवा संचालन भएको र ल्याबका साथै एक्सरे सेवासमेत सञ्चालनमा आएकोले स्वास्थ्य सेवामा थप सहजात प्राप्त गर्न सकिने बताउनु भयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले नागरिकलाई घरदैलोमै सेवा प्रदान गर्दा स्वास्थ्यको क्षेत्रमा थप सहजता आउने बताउनु भयो । वडाध्यक्ष तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष खुमकान्त बस्यालले नागरिकलाई सकेसम्म स्थानीय स्तरमै धेरै सेवा सुविधा दिने योजनासहित रम्भा गाउँपालिका र वडाले काम गर्दै आएको उल्लेख गर्नु भयो।

यस्तै कार्यपालिका सदस्य नानुकुमारी गन्धर्व, रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिव प्रसाद अर्याल, ताहुँ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख फिरोज श्रेष्ठ, मेडिकल अधिकृत बीर बहादुर चौधरी र गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख महेश आचार्य लगायतले जनतालाई प्रदान गरिने सेवा सुविधा बिस्तारका क्रममा राखिएको डिजिटल एक्सरेले यस भेगका बासिन्दालाई सहज सेवा प्रदान हुनेमा आफुहरु विस्वस्त रहेको बताउनु भयो ।