माथागढी, पाल्पा । ग्रामीण आर्थिक बिकास संघ रेडाले माथागढी गाउँपालिकाको वडा नं. २, ३ र ४ को विभिन्न स्थानहरुमा अदुवाखेती सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने भएको छ ।
माथागढीको सिकारकोट, दमार, बोक्सादी, सपांदी, मरमरा र गोल्दीमा पकेट क्षेत्र (Cluster) नै बनाएर अदुवाखेती कार्यक्रम लागु गर्न लागिएको माथागढी गाउँपालिकाका प्रबक्ता शंकर दर्लामीले जानकारी दिनु भयो ।
यसै क्रममा वडा नम्बर २ रुप्सेका वडाध्यक्ष बोम बहादुर ठाडा र वडा सचिव सरस्वती पन्थ लगायतका जनप्रतिनिधि तथा कर्मचारीहरुसंगको छलफल पछि रुप्सेको बोक्सादी, सपाङ्गदि, देउराली, रजैपोखरा र अमराईमा समुह नै गठन गरी अदुवाखेती सम्बन्धी कार्यक्रम शुरु गर्न लागिएको हो ।

यसका लागि यही असार २२ गते आईतबारदेखि नै समूह गठनको काम शुरुगरी उक्त समुहहरु मार्फत अदुवा खेतीलाई प्राथमिकतामा राखेर काम गरिने वडा सदस्य यानसिंह थापाले जानकारी गराउनु भयो ।
उक्त छलफल कार्यक्रममा रेडाको तर्फबाट स्पाईसी नेपाल परियोजना संयोजक सन्देश खनाल र माथागढीका लागि रेडाको तर्फबाट कृषि प्राबिधिक सोनी थापाको उपस्थिति रहेको थियो । परियोजना संयोजक खनालका अनुसार कृषक समुहबाट उत्पादित अदुवाको बजारीकरणमा समेत रेडाले सहयोग गर्नेछ ।
यस बर्ष परियोजना ढिला गरी शुरु भएकाले अदुवाको वीउ उपलब्ध गराउन नसकिएको जानकारी गराउदै संयोजक खनालले किसानले लगाईसकेको खेतीलाई औषधि देखि प्राबिधिक लगायतका सहयोग रेडाले नै उपलब्ध गराउने बताउनु भयो। यस्तै छलफल वडा नम्बर ४ झडेवामा समेत सम्पन्न भएको वडाध्यक्ष शंकर दर्लामीले जानकारी दिनु भयो ।