पाल्पा । विशेष नापी कार्यालयले भूमिहीन ८ सय परिवारलाई लालपुर्जा वितरण गरेको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पाल्पा र सुनवलमा ८ सय बढी लालपुर्जा वितरण गर्नु भएको छ ।

विशेष नापी कार्यालयले पाल्पा जिल्लाको रामपुरमा करिब ५०० जना र नवलपरासीको सुनवलमा सुनवल नगरपालिकाको समन्वय र भूमि समस्या समाधान आयोग जिल्ला कार्यालय नवलपरासीको आयोजनमा करिब २०० जनालाई लालपुर्जा वितरण गरिएको हो ।

लालपुर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले देशभरका भूमि समस्या र अव्यवस्थित बसोबासीको दीर्घकालीन समाधानका लागी मन्त्रालय र भूमि आयोगले निरन्तर काम गरिरहेको जानकारी गराउनु भयो । उहाँले अबको ६ महिना भित्र ७० प्रतिशत भूमिहीनले लालपुर्जा प्राप्त गरिसक्ने उल्लेख गर्नु भयो ।

पाल्पामा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, नापी विभागका महानिर्देशक प्रकाश जोशीलगायतका सहभागिता थियो । यस्तै सुनवलमा मन्त्री अधिकारीसहित भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजाल, सासंदहरु र सुनवल नगरपालिका मेयर विमला अयार्ललगायतका जनप्रतिनिधि र स्थानीयवासीको सहभागिता थियो ।