रुपन्देही। युवाहरुको सामाजिक एवम् स्वयमसेवी संस्था नमस्ते नेपालको प्रदेश समिति सदस्य विवेक खत्रीको जन्मदिनको पावन अवसरमा संस्थाले शैक्षिक एवम् खेलकूद सामग्री वितरण गरेको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १६ मा रहेको कोटहीमाई मिसुजु आधारभूत विद्यालयलाई संस्थाका तर्फबाट लुम्बिनी प्रदेश मुख्यमन्त्रीका शिक्षाविज्ञ एवम् सो कार्यक्रमका प्रमुख अतिथि दलबहादुर गुरुङले फूटवल, भलिवल, क्यारेमबोर्ड, लूडो, क्रिकेट, ब्याटमिन्टन, सिसाकलम एवम् पेन्सिल कटर लगायतका सामग्री विद्यालय र विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको थियो ।

प्रमुख अतिथि गुरुङले जन्मदिनका अवसरमा गरिने फजुल खर्चको तुलनामा यस्तो पवित्र कर्ममा सहयोग गर्नु उदाहरणीय कार्य भएको बताउदै विवेक खत्री धन्यवादको पात्र बनेको उल्लेख गर्नु भयो । उहाँले नमस्ते नेपालले सामाजिक र शैक्षिक जागरणका लागि खेलकूद तथा शैक्षिक सामग्री वितरण गरेर विद्यार्थीको स्वास्थ्य, शारीरिक र शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान गरेको समेत बताउनु भयो ।

नमस्ते नेपालले आफ्ना सदस्यहरुको जन्मदिनमा वृक्षरोपण गर्दै आएतापनि यसपटक विवेक खत्रीको जन्मदिनमा परदेशबाट पठाई दिनु भएको आर्थिक सहयोगबाट शैक्षिक एवम् खेलकूद सामग्री खरिद गरि वितरण गरिएको संस्थाका अध्यक्ष मनीष भुसालले जानकारी दिनु भयो ।

सो कार्यक्रममा विद्यालयका प्रअ आत्मराम कोईराला, नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल, केन्द्रीय कोषाध्षक्ष बरदान आचार्य, लुम्बिनी प्रदेश अध्यक्ष जीवन पाण्डेय र राजनलगायतले नमस्ते नेपाल युवाहरुको सामाजिक एवम् स्वयमसेवी संस्था भएकाले निरन्तर प्रगतिशील कार्यहरु गर्दै जाने बताउनु भयो ।

थारु समुदायका विद्यार्थीको वाहुल्यता रहेको र कक्षा पाँसम्म सञ्चालित उक्त विद्यालयमा यस शैक्षिक सत्रमा १ सय १५ जना विद्यार्थी अध्ययनरत छन् । २०५३ सालमा स्थापना भएको उक्त विद्यालयमा २०७१ सालदेखि अङ्ग्रेजी माध्यमबाट कक्षा सुरु गरिएको छ ।

को हुन् विवेक खत्री ?
विवेक खत्री, नमस्ते नेपाल, लुम्बिनी प्रदेश समितिको सदस्य हुनुहुन्छ । उहाँ वैदेशिक रोजगारको सिलसिलामा यतिबेला फ्रान्स आर्मीमा कार्यरत रहनु भएको छ । आफूले दु:खजिलो गरि अध्ययन गरेको र हालको अवस्थामा पुगेको बताउँदै ग्रामीण भेगका विद्यार्थीलाई निरन्तर सहयोग गर्ने सपना रहेको बताउनु भयो। जन्मदिनमा अनावश्यक खर्चिनुभन्दा पवित्र कर्ममा सहयोग गर्न पाउँदा आफू ओैधी खुसी रहेको विवेक खत्रीले उल्लेख गर्नु भयो ।